नेपाली कांग्रेसको जारी महासमिति बैठकमा १२ जना युवा नेताहरुले १४ औं महाधिवेशनको माग गरिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महाधिवेशनको माग गर्दै कार्यतालिका नै सार्वजनिक गरेका छन्।

महासमिति बैठकलाई सम्वोधन गर्दै पौडेलले कांग्रेसले भावी मार्ग तय गर्न १४ औं महाधिवेशन जरुरी रहेको धारणा राखेका थिए । पार्टी संगठनलाई सृदृढ र गतिशील बनाउन बिशेष अभियान सञ्चालन गर्नुपर्ने बताउदै नेता पौडेलले आगामी पुस १६ गतेदेखि २०७८ बैशाखसम्मका कार्यक्रमहरु सार्वजनिक गरेका हुन्  ।

यस अभियान पश्चात महासमितिबाट संशोधित विधानले व्यबस्थित गरेका पार्टी संरचनाहरु टोल, वडा, गाउँ, नगर तहदेखि केन्द्रिय महाधिवेशनको कार्यतालिका अहिले नै निर्माण गरेर अगाडी वढ्न अनिवार्य देखिन्छ । यसका लागि यो महासमितिको बैठक सर्वसम्मतिका साथ निम्नानुसारको “समयबद्ध कार्यतालिका” अनुसार अघि बढ्ने प्रण गर्दछ ।’ भन्दै नेता पौडेलले आफ्नो कार्यतालिका प्रस्तुत गरेका छन्।

उनको कार्यतालिका अनुसार २०७५ पुष १६ देखि २०७६ आषाढ मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षण सहित “सदस्यता वितरण अभियान” चलाउने र  २०७८ बैशाखबाट  निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने रहेको छ।

 

मन्तव्यको पूर्णपाठ

 श्री सभापति ज्यू,
नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति ।

उज्यालो भविष्यका लागी समयबद्ध काम गरौं ।

नेपाली काँग्रेस यतिखेर ईतिहासकै कठिन मोडमा छ । सँगसँगै आज पनि जनताको अपार आशा, अपेक्षा र भरोसाको केन्द्रविन्दुमा छ । गौरवशाली विगतले प्रदान गरेको जिम्मेवारी, उर्लिदो जनसमर्थनको प्रेरणा र लाखौं कार्यकर्ता एवं शुभेच्छुकको उर्जाको जगमा नेपाली काँग्रेसले आफ्नो भावि मार्ग तय गर्न अब ढिला गर्नुहँुदैन । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र जनताका आधारभूत सरोकार र दैनिकी माथि मडारिएका सबैखाले चुनौति र अतिवादको सामना गर्न, संविधानको ईमान्दार कार्यान्वयन गर्न र सबै जाति, वर्ग, लिङ्ग र क्षेत्रका जनताको आर्थिक–सामाजिक समृद्धी सुनिश्चित गर्न सशक्त र जनमुखी काँग्रेसको पुनरोदय जरुरी छ । समृद्ध र स्वाभिमानी नेपाल निर्माणका लागि नेपाली काँग्रेसको लोकतान्त्रिकरण र नेपाली समाजकै लोकतान्त्रिकरण हाम्रो लक्ष्य हो । 

महासमितिको वैठक पश्चात बिलम्ब नगरिकनै पार्टी संगठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्नुपर्दछ । यस अभियानका क्रममा सदस्यता वितरण र प्रशिक्षण अभियानलाई संगसंगै लैजानु पर्दछ । पदयात्रा कार्यक्रम सर्वत्र सञ्चालन गर्नुपर्छ । कम्युनिष्ट सत्ताका मनपरितन्त्रको विरोध गर्नुपर्छ । हाम्रा सदस्यहरुलाई वैचारिक र सांगठनिक प्रशिक्षण दिने, “कम्युनिष्टहरुले भन्दै आएको समाजवाद र प्रजातान्त्रिक समाजवाद कुन सही र श्रेष्ठ हो ?” भन्ने बिषयमा बहस सर्वत्र चलाउनुपर्छ ।

अब काँग्रेसलाई मुखर बनाउनु छ । सबै भातृसंस्था र जनसम्पर्क समितिहरुको समयमै अभिवेशन सम्पन्न गर्ने, समयबद्ध काम गर्ने वानी बसाल्ने, पार्टीका सबै तहका नियमित वैठकहरु गर्ने, वैठकका एजेण्डाहरु समय सापेक्ष बनाउने, लोकतान्त्रिक संस्कार र संस्कृति अबलम्बन गराउने, पार्टीको शिक्षा, स्वास्थ्य लगायतको बिकास नीतिमा स्पष्टता प्रदान गर्ने, गरिबी निवारण र रोजगारी दिलाउने बिषयमा पार्टीको नीति स्पष्ट पार्ने, सामाजिक विभेदहरु हटाउने, समाजमा सहिष्णुता र धार्मिक, जातीय सद्भावको वातावरण निर्माण गर्ने, व्यबहारमा नै लोकतान्त्रिक समाजवादी पार्टी निर्माणमा जुट्ने खालको अभियान सञ्चालन गर्नु पर्दछ ।

स्थानीय तहका प्रतिनिधिहरुको अभिमुखीकरण र स्थानीय जनप्रतिनिधिहरुलाई जनचाहना अनुरुप प्रभावकारी काम गर्न निरन्तर समन्वय एवं निर्देशन गरिरहनु पर्दछ । देशैभरी वी।पी। विचार यात्रा र गणेशमान वलिदान अभियान जस्ता जनस्तरमा व्यापक प्रभाव छोड्ने कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । मधेश र काँग्रेसको घनिष्टता वढाउन मधेश केन्द्रित अभियान सञ्चालन गर्नुपर्दछ । मधेसको भूमि र पहाडको पानीको शक्तिमा साझेदारी कायम गरौं । 

यस अभियान पश्चात महासमितिबाट संशोधित विधानले व्यबस्थित गरेका पार्टी संरचनाहरु टोल, वडा, गाउँ, नगर तहदेखि केन्द्रिय महाधिवेशनको कार्यतालिका अहिले नै निर्माण गरेर अगाडी वढ्न अनिवार्य देखिन्छ । यसका लागि यो महासमितिको बैठक सर्वसम्मतिका साथ निम्नानुसारको “समयबद्ध कार्यतालिका” अनुसार अघि बढ्ने प्रण गर्दछ ।

मिति कार्यक्रम
२०७५ पुष १६ देखि २०७६ आषाढ मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षण सहित “सदस्यता वितरण अभियान” चलाउने ।
२०७६ आश्विन मसान्तसम्म “क्रियाशील सदस्यता वितरण र नविकरण”  सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने ।
२०७६ मंसिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा, गाउँपालिका, नगर ,उपमहानगर ,महानगरपालिका अधिवेशन सम्पन्न गर्ने ।
२०७६ पौष मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र जिल्ला अधिवेशन सम्पन्न गर्ने ।
२०७६ माघ १६  प्रदेश अधिवेशन सम्पन्न गर्ने ।
२०७६ फागुन ७ केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने ।
२०७६ चैत्र बाट २०७७ असोज मसान्तसम्म नव निर्वाचित सबै तहका समितिहरुको वैचारिक तथा संगठनात्मक प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र देशव्यापी प्रशिक्षण कार्यक्रम चलाउने ।
२०७७ चैत्र मसान्तसम्म  जनसरोकारका कार्यक्रमहरु अभियानका रुपमा सञ्चालन गर्ने ।
२०७८ बैशाखबाट  निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने ।
जय नेपाल ।

रामचन्द्र पौडेल
नेता, नेपाली काँग्रेस

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter