काठमाडौँ, २६ पुस । निर्मलाकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि परिवारमा विवाद भएको छ । निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न निर्मलाकी आमाले रगत नमुना संकलन गरेपछि परिवारमा विवाद भएको हो ।

परिवारको सल्लाहबिना रगतको नमुना प्रहरीलाई दिएको भन्दै निर्मलाका बुबा यज्ञराज र कान्छी आमा लक्ष्मी पन्तले असन्तुष्टि जनाउनु भएको हो । निर्मलाकी आमाले डीएनएका लागि बुधबार रगत संकलन गरेको विषयलाई लिएर घरमा विवाद भएको छिमेकीले बताए । उनले राहतको विषयमा पनि परिवारमा द्वन्द्व भएको बताए ।

निर्मलाको ‘भेजाइनल स्वाब’मा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गरेर प्रहरीलाई दिएका थिए । डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवी पन्तले बताए ।

‘निर्मलाको स्वाबमा भएको डीएनए सही हो कि होइन भनेर जाँच्नुपर्ने माग हामीले नै गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘बुवा र मेरा रगतको नमुना लिने कुरा थियो । म तीन–चार दिन जिल्ला प्रशासन कार्यालय गएँ तर बुवा नगएपछि हिजो बाध्य भएर एक्लै रगतको नमुना संकलन गरेँ ।’

रगतको नमुना संकलन गराएपछि आफूलाई श्रीमानले हातपात गरेको दुर्गादेवीले बताए । बिहान खाना पकाउँदै गर्दा श्रीमानले आफ्नो घाँटी अठ्याउँदै कुटपिट गरेको दुर्गादेवीले बताए । छोरीको हत्या भएको ६ महिना बितिसक्दा पनि न्याय नपाइएको बताउँदै आफूले राहत रकम बुझ्ने निर्णयसमेत गरेको उनले बताए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter