गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा सन् २०२२ मा बीस लाख पर्यटक भित्राउने योजनामा प्रदेश सरकार अग्रसर रहेको बताउनु भएको छ ।
सोमबार पोखरामा आयोजीत “नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा किशोर किशोरीहरुको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा वन, वातावरण तथा पर्यटन मन्त्री लम्सालले किशोरीहरुलाई गण्डकी प्रदेशको पर्यटन योजनाहरुको विषयमा जानकारी गराउनुभयो ।

कार्यक्रममा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका किशोरीहरुले प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै आम्दानी गर्नका लागि स्थानिय तह र प्रदेश सरकारको भूमिकाबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रममा जागृति बाल क्लवकी पूर्व अध्यक्ष आशा विकले वन र नदीहरु फोहोरको डम्पीङ्ग साइट भएको भन्दै फोहोरको उचित व्यवस्थापन नहुँदा यसले पर्यटनमा पार्ने असरलाई न्यूनिकरण गर्नुपर्ने आवश्यकता औल्याउनु भएको थियो । त्यस्तै किशोरीहरुले गण्डकी प्रदेशको तराईसँग जोडिएको जिल्ला नवलपुरमा भएका पर्यटकीय क्षेत्रहरुको विषयमा समेत मन्त्री लम्साललाई जानकारी गराएका थिए ।

पर्यटन प्रवद्र्धनमा बाल श्रम शोषण र यौन हिंसा जस्ता विविध विषयहरुमा प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको भन्दै किशोरी सुरक्षाको विषयमा संवेदनशिल भएर योजना बनाउन आग्रह गरेका थिए ।
त्यस्तै किशोरीहरुको प्रश्नको जवाफ दिँदै वन, वातावरण तथा पर्यटन मन्त्री लम्सालले वर्तमानका साझेदार र भविष्यका कर्णधार बालबालिका, किशोर किशोरी र युवाहरुको अधिकारको विषयमा प्रदेश सरकार सचेत रहेको बताउनुभयो । पर्यटनबाट मात्रै समृद्धि हाँसिल गर्न सकिने भन्दै मन्त्री लम्सालले प्राकृतिक अस्पतालका रुपमा गण्डकी प्रदेश रहेको र यसको सदुपयोग गरी पर्यटक भित्राउने कार्यमा सबैले सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका संरक्षक होमनाथ जैसी, महासचिव दीपक शर्मा, गण्डकी प्रदेश संयोजक प्रतिक्षा गैह्रे, देवचुली नगरपालिकाका बाल मैत्री परामर्शदाता नारायण पौडेल, पर्यटन अभियान्ता सुवास मल्ल लगायतले पनि बोल्नु भएको थिए । कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालले क्यानालानको सहयोगमा सञ्चालन गर्दै आएको किशोरी सशक्तिकरण कार्यक्रमका ४५ जना किशोरी अभियान्ताहरुको उपस्थीती रहेको थियो । जागृति बाल क्लवकी उपाध्यक्ष रेजिना घर्तिको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण आयोजक संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले गर्नुभएको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter