गीता geeta devi ghimire gita

म सानो हुँदा सुन्नेगर्थेँ कि यो कलि युग हो र कलि युग राम्रो युग होइन। यसमा पाप पढ्छ, मान्छेहरूको अनुशासन हिनता बढ्छ र जतासुकै अप्रिय समाचारहरु सुन्नुपर्छ अनि कलि युगको अन्त्यसंगै संसार पनि सकिन्छ। आजभोलि म ती बच्चा हुँदा सुनेका कुराहरु कतै साँच्चिकै पो हुनेहुन् कि भन्ने पनि सोच्छु कहिलेकाही। तर चाहान्छु कि यस्तो नहोस् ।

आज कोरोना भाइरस कै कारण बिश्वका अधिकांस देशहरू आक्रान्त भैरहेका छन् । नेपाल पनि यसबाट अछुतो रहेन र लक डाउनको २५ औं दिनसम्म आइपुग्दा संक्रमितको संख्या ३० पुगेको छ। आजभोलि सामाजिक संजाल हेर्न लायक नै छैन। प्राय: मान्छेहरु कति बेला कसलाई गाली गर्न र अनावश्यक स्टाटस लेख्न पाइन्छ भनेर ढुकेर बस्ने गरेका छन् । यस्ता मान्छेहरुको निशानामा विशेष गरि सरकार, स्वास्थ्य कार्यकर्ता र सुरक्षाकर्मीहरु नै पर्ने गरेका छन् । जो आफ्नो ज्यानलाई दोस्रो प्राथमिकतामा राखेर जनताहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर मोर्चाको अग्रभागमा खटेर काम गरिरहेका छन् उनिहरु नै फेसबुकमा मात्रै हिरो बन्न खोज्नेहरुको निशानामा पर्नु निकै खेदजन्य छ।

अचम्म लाग्छ: आफ्नो तर्फबाट एउटा नागरिक भएर गर्नुपर्ने सामान्य कर्तव्यबोध पनि गर्न नसक्नेहरुले नै उनिहरुलाई प्रश्न गर्न मिल्छ र? सरकारले घरमा बस्नुस् तपाई सुरक्षित रहनुहुन्छ भनेर भनिराख्दा के के न बिते जसरी अनावश्यक रुपमा बाहिर निस्कने त्यो पनि ग्रुप बनाएर अनि भोकभोकै खटिएका पुलिसहरु संग झगडा गर्दै हिंड्नेहरु पनि प्रशस्तै देखिन्छ । र बांकी घरमा भएकाहरु त्यही कुरालाई पहाड बनाएर जे मन लाग्छ त्यही पोस्ट गर्ने गरीएको पाइन्छ। हरेक ब्यक्तिले आफू अनुशासनमा बसिदिने हो भने पुलिसहरु त्यसरी घामपानी खाएर सडकमा बस्नुपर्ने पनि हुन्नथ्यो होला। यो कुरा हामी कहिले बुझ्छौं खै?

जिरो अवस्थाबाट आजको दिनसम्म आउँदा सरकारले धेरै नै राम्रो ब्यवस्थापन गर्दै गैरहेको छ। हाम्रो जस्तो सानो र अबिकसित देशमा यतिको प्रगति हुनु सकारात्मक कुरा हो। काम गर्दै जांदा धेरै कुरा सिक्दै गइन्छ। सरकारले पनि सत प्रतिशत काम गर्न सकेन होला, कमिकम्जोरी छन् होला तर त्यसो भन्दैमा बिरोध मात्र गरेर बस्ने हो र झन् काम गर्न बाधा उत्पन्न गर्ने हो भने हामी कसरी यो संक्रमणलाई रोक्न सक्छौं ? नेपालमा भएका अरु राजनीतिक संघ, संस्थाहरु बिरोध र मागहरु मात्र राखेर बिज्ञप्ति निकालिरहेका देखिन्छन्। यो संकटमा आफ्नो क्षेत्रबाट कसरी र के सहयोग गर्न सकिन्छ त्यो नगरी बिज्ञप्ति निकालेर बस्ने बेला हो र? सकिन्छ भने मदत गरौँ सकिन्न भने कमसेकम आफ्नो घरमै बसेर लकडाउनको पालना गरेर सरकारलाई काम गर्न सजिलो बनाइदिउं। हरेक कुरामा नकारात्मक भन्दा सकारात्मक कुरा बाहिर ल्याउनु हामी सबैको धर्म हो यो बेला।

अर्कोकुरा, हुने खानेहरुले खाने बेला र देखाउने बेला यहि नै हो जस्तो गरि आफ्नो फेसबुकमा परिकारहरु हरेक दिन राख्नुभन्दा आफ्नो वरिपरि कोहि भोकै छन् कि? खोजी गरेर उनीहरुको पेट भरे देखि मानवीय धर्म हुन्थ्योहोला बरु, तर त्यो फेसाबुकमा राखेर कसलाई देखाएका हुन् थाहा छैन। आजकल मलाई अचम्म लाग्छ हरेक मान्छे पत्रकार भएको देख्दा! सरकारले र आधिकारिक संचार माध्यमले समाचार दिइसकेपछी फेरि तिनै कुराहरू आफ्नो फेसबुकमा हाउगुजी बनाएर पोस्ट्याउनुको किन जरुरी छ? बरु आत्तिएका मान्छेलाई केही मानसिक रुपमा तनाव घटाउने कुराहरु लेखौं, केही आशाका किरणहरु छरौँ र मन शान्त बनाउने प्रयास गरौं। खासगरी, अहिले जो अग्रभागमा आफ्नो ड्युटी गरिरहेका छन् उनिहरु चुपचाप आफ्नो कर्तव्य निभाइरहेका छन्। उनिहरुले ब्यक्तिगत सुरक्षाका सामाग्री बाहेक केही कुरामा अनावश्यक बोलेका पनि छैनन् र माग पनि गरेका छैनन्। त्यो जायज माग पनि हो। प्रत्यक्ष अग्रभागमा रहेर काम गर्नु कति जोखिमपूर्ण छ?यो हामिलाई थाहा छ।

म पेशाले नर्स भएपनी अध्यापन क्षेत्रमा लागेको हुनाले घरमै छु, क्याम्पस बन्द छ। तर मेरा आफन्त जो नातामा मेरा भाइ र बहिनी ( देवर र देवरानी) पर्दछन्। उनिहरु दुबै जना सरकारी अस्पतालमा डाक्टर छन् र हरेक दिन हस्पिटल जान्छन् बिरामी हेर्न। म उनिहरुकै त्यो सानो १० महिनाको बच्चालाई दिनभरी रेखदेख गर्छु। हरेक दिन त्यो बच्चा आमाको काखबाट म संग आउन गार्हो मान्छ तर उपाय छैन उनलाई हस्पिटल नगइ हुन्न। उनको सट्टामा म गएर हुँदैन किनकी मैले उनले गर्ने काम गर्न जान्दिन। म दिनभरी चिन्ता गरिरहन्छु: आज कस्ता बिरामी आए होलान् ? कोरोनाका बिरामी आए कि?उनिहरु अस्पतालमा रहुन्जेल फोन उठाउंदैनन्। उनिहरुले मलाई भनेका छन् कि यदि हामिले हेरेर उपचार गरेका बिरामीहरुको कोरोनाको बिरामी पुष्टि भयो भने र भर्ना गर्नुपर्यो भने हामी घरमा आउँदैनौ र बच्चा हजुर संगै राख्नुपर्छ। म बच्चाको आफ्नो आमाको दूध खान पाउने अधिकार पनि त खोसिने भो भनेर चिन्ता गर्छु। उनिहरु काम गर्छन् तर न फेसबुकमा फोटो हाल्छन् न कसैलाई गाली गर्छन् । मनमा त्यतिकै जांगरका साथ आफ्नो काम गरिरहेकै छन् ।

तर कुनै संचार माध्यम हेर्छु यसरी स्वास्थ्यकर्मिलाई हकारीरहेका हुन्छन् कि मानौं स्वास्थ्यकर्मिहरु उनिहरुका नोकर हुन् र उनिहरु मालिक। हरेक कुरामा नकारात्मक समाचार बनाएर प्रसारण गर्ने आदत नै हुंदोरहेछ कुनैलाई। कतिपय राम्रो पत्रकारिता गर्नेहरु नि छन् उनिहरु साँच्चै उदाहरणीय छन् सबैका लागि। जो हाम्रो लागि ज्यानको माया मारेर काम गरिरहेका छन् उनिहरुको हौसला बढाउनुको सट्टा हामीले झन् हतोत्साहित त गरिरहेका छैनौं ? सोच्नुपर्ने बेला भएको छ। अन्त्यमा, यो भन्न चाहान्छु कि बाहिर बसेर बोल्न जति सजिलो छ, पदमा बसेर काम गर्न त्यतिकै कठिन छ। त्यसैले यो संकटको घडिमा खाली अरुको कमजोरी खोज्नुभन्दा आफ्नो आफ्नो भुमिका निभाऔँ कुनै पनि कुरालाई अतिरन्जित तरिकाले बढावा गर्नुभन्दा सकिन्छ भने समाधानको लागि पहल गरौं सकिँदैन भने सरकारको अनुरोधलाई पुर्ण पालना गरौँ र आफू र आफ्नो परिवारलाई बचाऔं। हरेकका परिवार सुरक्षित रहे भने समाज सुरक्षित हुन्छ। अनि समाज सुरक्षित रहे देश रहन्छ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter