महेन्द्र पौडेल || नेपालमा विश्वविद्यालय, कलेज तथा विद्यालय खोल्ने होडबाजी नै छ । हाम्रो देशमा विश्वविद्यालय मात्र नौ वटा छन् । प्राविधिक शिक्षा दिने शिक्षालय तथा कलेजहरूको संख्या सयौं छ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर कोर्स सञ्चालन गरिरहेका कलेज पनि लगभग ९५ वटा छन् । विडम्बना, यति धेरै शिक्षालय हुँदाहुँदै पनि विद्यार्थी भिसामा देश छाड्ने विद्यार्थीको संख्या बढिरहेको छ । विदेश पढ्न जाने रहर मात्र नभइ लहर नै चलिरहेको छ ।

आधुनिक जीवनशैली बाँच्ने, सुविधासम्पन्न कलेजमा पढ्ने तथा गुणस्तरीय एवं व्यवहारिक शिक्षा लिने बहानामा राष्ट्र छाड्ने युवाहरूको जमात ठूलो छ । यो जमात देख्दा लाग्छ, नेपालमा अध्ययन गराउने कलेज नै छैनन् । नेपालमा पढेर रोजगारी प्राप्त गर्न सकिँदैन । वैदेशिक अध्ययनका लागि शिक्षा मन्त्रालयले दिने नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या हेर्ने हो भने नेपालमा पढ्ने कलेज नै छैनन् कि भन्ने लाग्न सक्छ । टिभीमा सुने शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्साल चै नेपालका शिक्षण संस्थाहरूले गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी पलायन रोक्नुपर्ने कुरामा जोड गर्नुहुन्छ । विद्यार्थीलाई नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध छ भन्ने परामर्शको आवश्यकता छ, तर यसका लागि भरपर्दो नीति छैन ।

यद्यपि नेपालको भन्दा फरक शिक्षा प्रणाली भएको देशमा अध्ययन गरेर क्षमता विकास गर्नुलाई गलत मान्न नहुने तर्क पनि गरिन्छ । राष्ट्रिय पत्रिकामा भेटे नेपाल शैक्षिक परामर्श संघ ईक्यानका अध्यक्ष प्रकाश पाण्डे अन्तर्राष्ट्रिय स्तरको शिक्षा हासिल गर्न विदेश जानुलाई अनुचित भन्न नमिल्ने तर्क गर्नुहुन्छ । पाण्डेले भान्नुहुन्छ, गुणस्तरीय पढाइ र राम्रो अवसरका लागि विद्यार्थीहरू बाध्य भएर विदेश गएका हुन् । विदेश जाने विद्यार्थीहरूका बारेमा सरकारसँग तथ्यांक भए पनि स्वदेश फर्कनेहरूको कुनै तथ्यांक छैन । विदेशमा अध्ययन पूरा गरेर फर्किएका युवाहरूले स्वदेशमा अवसर पाएका छन् कि छैनन् भन्ने विषयमा पनि कुनै अध्ययन भएको पाइँदैन ।

बर्सेनी बढेको बढ्यै

शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४ मा ५० हजार ६ सय ५९ जनाले नो अब्जेक्सन लेटर लगेका छन् । यसबाट सरकारले १० करोडभन्दा बढी राजस्व संकलन गरेको छ भने डेढ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । ६ वर्षअघिको तथ्यांक हेर्ने हो भने १० हजार विद्यार्थीले नो अब्जेक्सन लेटर लगेको देखिन्छ । त्यसपछि बर्सेनि औसत ६ हजार थपिँदै गएका छन् । यो वर्ष १८ हजार १ सय ७० भन्दा बढी विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । समग्रमा यस्तो अनुमति लिने विद्यार्थी संख्या बर्सेनि २ हजारको दरले बढिरहेको छ ।

धेरैको रोजाइमा अस्ट्रेलिया

पछिल्ला वर्षहरूमा अस्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइमा परेको छ । अस्ट्रेलियामा एकै वर्षमा २४ हजार २ सय ३३ विद्यार्थीले भिसा आवेदन दिएको तथ्यांक छ । त्यसपछि जापान, अमेरिका, भारत, चीन, क्यानाडा, पोल्यान्ड, बंगलादेश, जर्मनी, बेलायत, डेनमार्क, श्रीलंका आदि छन् । जापानका लागि १० हजार ४ सय १६ तथा अमेरिकाका लागि ३४ सय ८३ विद्यार्थीले आवेदन दिएका थिए ।

रोजाइमा अन्य देश

नेपाली विद्यार्थी नामै नसुनेका वा युद्धग्रस्त देशमा पनि गएको पाइन्छ । छिमेकी भारत, चीन तथा श्रीलंकाबाहेक बेलारुस, गुयाना, साउदी अरेबिया, स्लोभाकिया, स्विट्जरल्यान्ड, पोल्यान्ड, भियतनाम, अर्मेनिया, रोमानिया, हल्यान्ड आदि देशका लागि पनि विद्यार्थीहरूले नो अब्जेक्सन लेटर लिँदै आएका छन् ।

 विदेश नै किन

कतिपयले विदेश पढ्न जानुलाई फेसनकै रूपमा लिए पनि नेपालमा गुणस्तरीय शिक्षाको अभाव नै यसको प्रमुख कारण मानिएको छ । अन्तर्राष्ट्रिय शिक्षा लिएर सक्षम एवं सबल बन्न मात्र नभै सुरक्षित भविष्यका लागि पनि विदेश रोजिएको पाइन्छ । विदेशी डिग्री लिएर विदेशी श्रमबजारमा बिक्न तथा करियर सुरक्षित बनाउन नेपाली युवाहरूले मरिहत्ते गरेको पाइन्छ ।

नेपालको राजनैतिक अस्थिरता एवं व्यवहारिक शिक्षाको अभाव आदि कारणले नै विद्यार्थीहरू बाहिरिने गरेका हुन् नेपालमा डिग्री सकेर पनि बेरोजगार बस्नुपर्ने साथै विदेशमा पढिसक्दा रोजगारी पनि प्राप्त हुने भएकाले, विद्यार्थीहरू उतै आकर्षित भएका हुन् । नेपाली युवालाई स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्नु एवं रोजगारीको ग्यारेन्टी नहुनुमा सरकार जिम्मेवार रहेको भण्डारीको आरोप छ ।

पढाइपछिको रोजगारी

विदेश अध्ययनका लागि गैसकेपछि पढ्दै वा पढाइ सकेर रोजगारीको अवसर जुटाउन सकिन्छ । क्षमता, योग्यता वा सीपका आधारमा सामान्य रोजगारी प्राप्त गर्न कठिन छैन् । पढाइ खर्च जुटाउन पार्ट टाइम जब हासिल गर्न कुनै समस्या पर्दैन । सातामा १५ देखि २५ घण्टासम्म काम गर्न पाइन्छ ।

विदेश गएपछि सुरुका केही महिना समस्या भए पनि पढ्दै काम गर्न थालेपछि कुनै असहजता महसुस हुँदैन । विदेशमा जुनसुकै स्तरको काम गरे पनि सम्मान नै हुन्छ, त्यहाँ श्रमको सम्मान गर्ने प्रचलन छ । पार्ट टाइम जबले विद्यार्थीको दैनिकी एवं पहिलो तथा दोस्रो सेमेस्टरपछिको खर्च धान्न सकिन्छ ।

रोजगारीका क्षेत्र

हातमा राम्रो सीप भए विदेशमा त्यही अनुसारको रोजगारी प्राप्त गर्न समस्या छैन । नेपाली, बंगाली, भारतीय, पाकिस्तानी तथा अफ्रिकी विद्यार्थीहरूले लगभग एकै किसिमको काम पाइरहेका हुन्छन् । जापान पुगेका विद्यार्थीले विशेष गरी रेस्टुराँमा काम पाउँछन् । कुक वा वेटरका रूपमा काम गर्दा मासिक १ लाख रुपैयाँसम्म आम्दानी हुन्छ । मिनी सुपरमार्केटमा रोजगारीको सम्भावना बढी हुन्छ । अस्ट्रेलियामा धेरैजसो रेस्टुराँ, बर्गर हाउस, कफी हाउस आदिमा काम पाइन्छ । त्यसबाहेक कस्टम केयर, डिपार्टमेन्टल स्टोर आदिमा पनि रोजगारीको सम्भावना हुन्छ ।

राष्ट्र परिवर्तनमा भूमिका

राष्ट्र परिवर्तनमा ध्यान दिन नेपाल सरकारले विदेशमा पढ्न जाने बिद्यार्थी र फर्कनेको बिध्यर्थिको तथ्यांक तयार गर्ने हो भने देशबाट बाहिरिएका दक्ष जनशक्ति पत्ता लाग्ने थियो । यस्ता स-साना कुराहरुले गर्दा देशमा भएका शिक्षित भनिएर उदाएका दक्ष जनशक्ति सबै बाहिर जाने र देशमा सबै अशिक्षित मात्र बस्ने हो भने देशले कहिलै काचुली फेर्ने छैन त्यस्को लागि नेपाल सरकारले एउटा छुटै फरक निति, नियम स्थापना गर्न जरुरी छ । यदी अहिले बाहिर रहेका जनशक्ति मध्ये १५ % प्रतिशत विधार्थीहरुलाई स्वदेश फिर्ता गर्ने र रोज्घरिको अवसर सिर्जना गर्ने हो भने देश अगाडी बढ्न सहज हुने थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter