तस्विर केशव पाण्डे

फागुन २९, झापा । झापा बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले मंगलबार बिर्तामोड बजार बन्द गरिएको छ । २० फागुनदेखि सम्पर्कविहीन भएका मुखियाको अपहरणपछि हत्या भएको आशंका गरिएको छ । उनको शव इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा भेटिएको थियो ।

सुनचाँदी व्यवसायी संघ र बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा बजार बन्द गरिएको हो ।

तस्करीको साढे ३३ केजी सुन गायब भएपछि हत्या गरिएको सनम शाक्यको घटना सेलाउन नपाउँदै झापाका अर्का सुन व्यवसायीको अपहरणपछि हत्या भएको छ । एक साताअघिदेखि बेपत्ता बनेका सुन व्यवसायी साजन मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको हो । उनी सुन व्यवसायी संघ, झापाका सदस्य समेत हुन् ।

संघका झापा अध्यक्ष राजु धमलाले अनलाइनखबरलाई दिएको जानकारीअनुसार उनको शव मेची राजमार्गदेखि ५० फिट तल बोरामा प्याक गरिएको अवस्थामा फेला पारिएको हो । स्रोतका अनुसार घटनामा संलग्न भएको आशंका प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले पनि उनको शव भेटिएको पुष्टि गरे । शवलाई पोष्टमार्टम गर्नका लागि भद्रपुर लगिएको छ । पक्राउ परेकाहरुले दिएको बयानका आधारमा मुखियाको शव खोज्दै प्रहरी टोली कोल्बुङ पुगेको थियो । एक जना प्रहरी अधिकारीले भने, ‘उनको दुवै हात बाँधेको अवस्थामा शव भेटिएको थियो । घाँटीमा पनि डोरी कस्सिको डाम देखिन्थ्यो ।’

मुखिया ९ दिनअघि बजार पुगेर आउँछु भन्दै घरबाट निस्किएका थिए । त्यसयता उनी बेपत्ता थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter