चितवन, १ चैत । जानकारी भएसम्म सरकारले अहिलेसम्म कुनै पनि निजी संस्थालाई पहिले पैंसा, पछि काम गर्ने गरी रकम दिएको छैन ।चितवनको निर्माणधीन औद्योगिक राष्ट्रिय प्रर्दशनी केन्द्र निर्माणका लागि निजि क्षेत्रको विश्वासमा परेर सरकारले चितवन उद्योग संघको खातामा १५ करोड रकम हालिदियो ।

दुई महिनामा नै १५ करोड रकम सकिएको संघका अध्यक्ष भेषराज दुवाडीले बताए । ‘यसरी नै खर्च गर्ने हो भने देश बन्न बेर लाग्दैन ।’ अध्यक्ष दुवाडीले भने, ‘हामीले सरकारको मन जित्यौं, सरकारले हाम्रो विश्वास गर्‍यो ।’सरकारले पठाएको १५ करोड रकम सरकारी प्रकि्रयाअनुसार नै चितवन उद्योग संघले निर्माणमा खर्च गरिसक्यो ।

उनका अनुसार नेपालमा नै पहिलोपटक सरकारले निजी क्षेत्रको कुनै संस्थालाई यति ठूलो परिमाणमा निःशर्त अनुदान दिएको हो ।भरतपुरस्थित घरेलु तथा साना उद्योग कार्यालयको मैदानमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण कार्य जारी छ ।

अहिलेसम्म ६० प्रतिशत निर्माणको काम सकिएको छ । प्रर्दशनी केन्द्र गएको जेठबाट निर्माणको काम थालिएको थियो । आगामी असारसम्म निर्माण काम गरीसक्ने लक्ष्य छ । सरकारले १५ करोड र चितवन उद्योग संघको १५ करोड गरी ३० करोडको लागतमा प्रर्दशनी केन्द्र बनाउने काम भैरहेको छ ।

उद्योग संघका आवद्ध व्यवसायीहरुले पनि ५ करोड रकम उठाएर केन्द्र निर्माणमा खर्च गरिसकेका छन् । बाँकी रकम उठाउने काम भैरहेको अध्यक्ष दुवाडीले जानकारी दिए । नेपाल उद्योग परिसंघले करीव ३ करोड रकम सहयोग गर्ने आश्वासन दिएको छ ।

‘यो चालिस करोडको कुल प्रोजेक्ट हो । १५ करोड सरकारको आयो, १५ करोड हामीले उठाएर खर्च गरेपछि थप १० करोडका लागि फेरि सरकारसँग कुरा हुन्छ ।’ संघका अध्यक्ष दुवाडीले भने, ‘निजी क्षेत्र र सरकारको संयुक्त लगानीको नमूना र अनुकरणीय प्रोजेक्ट हो ।’

घरेलु तथा साना उद्योग कार्यालय भरतपुरको स्वामित्वमा रहेको करिब २ बिघा ७ कट्ठा जग्गा संघले २९ वर्षका लागि भाडामा लिएको हो ।

संघले झण्डैं पाँच वर्ष लगाएर यो जग्गा भाडामा लिएको थियो । ‘एकातिर सरकारलाई भाडा पनि तिरिरहेका छौं, अर्कोतिर २९ वर्षपछि सरकारकै स्वामित्वमा करोडौंको प्रर्दशनी केन्द्र रहनेछ,’ अध्यक्ष दुवाडीले भने, ‘चितवनमा औद्योगिक विकासका लागि हामीले बिना हिच्किचाहट लगानी गरेका छौं ।’

प्रर्दशनी केन्द्र निर्माणकै चरणमा २ वटा एक्सो समेत भैसकेका छन् । अन्तर्राष्ट्रिय पोल्ट्री एक्सो र क्यान मेला यही केन्द्रमा सम्पन्न भएका थिए ।

मुख्य हल निर्माणको काम सकाएर चैत्र २३ देखि २७ सम्म पाँचौं औद्योगिक प्रर्दशनी गर्ने तयारी संघको छ ।

त्यसका लागि काम तीव्र गतिमा भैरहेको छ । आर्थिक राजधानीका रुपमा विकास हुँदै गरेको चितवनमा प्रर्दशनी केन्द्र बनाउँदा मौसम अनुकलता खोज्दै प्रर्दशनी गर्नुपर्ने बाध्यता पनि हट्ने छ ।

चितवन महोत्सव लगायतका ठूला मेला र महोत्सवहरु अब यहि केन्द्रमा गर्न सजिलो हुनेछ ।

यस्तो बन्ने छ एक्स्पो सेन्टर

एक्स्पो सेन्टर ५१ हजार बर्गफिटको हुनेछ । ठूला उपकरण प्रदर्शनीका लागि ३० हजार बर्गफिट व्यवस्थित खुला ठाउँसमेत रहने छ ।

प्रदर्शनी केन्द्रमा सूचना केन्द्र हुनेछ । केन्द्रबाट उद्योग, कृषि, पर्यटनलगायतको सूचना उपलब्ध गराइने छ ।

प्रदर्शनी केन्द्रमै दुई हजार ५०० वर्गफिटको बाल उद्यान केन्द्र, दुई हजार बर्गफिटमा खाना र परिकारका कक्ष रहने छ ।

प्रदर्शनी केन्द्रको मुख्य भागमा करीव तीन सय स्टल राखिने छ । तीन वटा ब्लक निर्माण गरिने छ । एक व्लकमा करिव एक सय वटा स्टल सञ्चालन गर्न सकिनेछ ।

३५ फिट उचाइका संरचनाहरु बाहिरी तापक्रम भन्दा १० डिगी्र सेल्सियस कम तापक्रम हुने गरी तयार हुनेछन् ।

प्रर्दशनी केन्द्रमा करिब ५८ प्रतिशत क्षेत्रफल खुल्ला रहनेछ । एउटा एक्स्पो हलमा ८ वटा साना ठूला ढोकाहरु राखिने छन् ।

प्रर्दशनी केन्द्र स्थलसम्म पुग्न दुई लेनको कालोपत्रे बाटो समेत बनाइने छ । २ सय वटा मोटरसाइकल, १५० वटा साना सवारी पार्किङ गर्न मिल्ने स्थलको समेत व्यवस्था गरिनेछ ।

औद्योगिक उत्पादन एउटै छानामुनि

एक्स्पो सेन्टर बनेपछि धेरै प्रकारका औद्योगिक उत्पादनहरु एउटै छानामुनि प्रर्दशन गर्न सकिने छ ।

उद्यमशिलताको विकास र ज्ञानको आदानप्रदान गर्न प्रर्दशनी केन्द्र महत्वपूर्ण बन्ने छ ।

चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले साना तथा मझौला उद्यमीहरुलाई प्रविधि, तथा सीप आदानप्रदान गर्न प्रर्दशनी केन्द्र बढी फलदायी हुने बताए ।

कृषि, गैरकाष्ठका वस्तु, पशुपालन, दूग्ध उद्योग, पंक्षिपालन, जडीबुटीमा आधरित उद्योगलाई नयाँ प्रविधि, बजार, सीप एवम् अनुसन्धानमा सहयोग पुग्ने दावी उनको छ ।

सेन्टरले चितवनको आन्तरीक पर्यटन र वाहृय पर्यटनको विकासमा समेत टेवा दिनेछ । यसको प्रभाव सवै क्षेत्रमा पर्नेछ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक उत्पादनको प्रचार प्रसार गर्ने माध्यम समेत बन्दा चितवनका अन्य व्यवसायहरु होटल तथा पर्यटन व्यवसाय प्रर्वद्धनका लागि पनि टेवा पुग्ने छ ।

देशकैं मध्यभागमा चितवन पर्ने भएकोले यो राष्ट्रिय औद्योगिक प्रर्दशनी केन्द्र सवैका लागि पायक पर्ने संघका अध्यक्ष दुवाडीले बताए ।

चितवन पोल्ट्रीको राजधानी हो । व्यवसायिक केराखेती, पशुपालन, माछापालन, तरकारी खेती, तोरी खेती जस्ता प्रमुख उत्पादनहरुको ठूलो योगदान देशको राष्ट्रिय उत्पादनमा रहँदै आएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter