काठमाडाैं, चैत ३ –चारपाँच दिनदेखि शिक्षण अस्पताल महाराजगञ्ज धाइरहेका हरिशरण पौडेललाई अहिले न दिन न रात सबै एउटै जस्तै छ । निन्याउरो अनुहार, पीडाले निःशब्द भएका पौडेललाई खान र बस्नको पनि टुंगो छैन । सोमबार बंगला विमान दुर्घटनामा ज्यान गुमाएका भाईको शव लिन उहाँले टिचिङ धाउनु भएको ५ दिन भइसकेको छ । उहाँलाई भाइ हरिशंकर पौडेलको मृत्युले विक्षिप्त बनाएको छ । उमेर हुँदा नै भाइको अकालमै ज्यान गएपछि उहाँको परिवार नै यतिखेर शोकमा डुबेको छ ।  स्थायी घर तनहुँ भएका पौडेलको गुह्येश्वरी शेषमति पुल नजिक बसोबास छ । उहाँको भाइ हरिशंकर नमस्ते नेपाल ट्राभल्सका संचालक हुन् । हरिशंकर यूएस बंगला एयरलाइन्सका मार्केटिङ डाइरेक्टर थिए ।

कार्यालयको कामका लागि बंगलादेश गएका हरिशंकरको सोमबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका  विमान दुर्घटनामा ज्यान गयो । घटना भएको ५ दिन बितिसक्दा पनि आफन्तले शव पाउन सकेका छैनन् । पौडलेको परिवारलाई एकातिर आफन्त गुमेको पीडाले मर्माहत बनाएको छ भने अर्काेतिर शव पाउन नसक्दा पीडाले झन आक्रान्त तुल्याएको छ । मृतकका दाजु हरिशरणको टिचिङमै बास छ । तर भाइको शव पाउन सक्नु भएको छैन । हरिशरण पौडेलको जस्तै अन्य मृतकका परिवारले पनि शव पाउन सकेका छैनन् ।

स्तै पीडा छ ५८ वर्षीया उर्मिला प्रधान (थापा) को पनि । एक मात्र छोरीको विमान दुर्घटनामा मृत्यु भएपछि उहाँ छिनछिनमा मुर्छा पर्दै अचेत बन्नुहुन्छ ।  वरिपरि रहेका मान्छेहरु र आफन्तले उहाँलाई सम्झाउने प्रयास गर्छन् तर उहाँ आफूलाई सम्हाल्न नसकेर मुर्छा पर्नुहुन्छ । छोरीको मृत्युले जलेको मुटुलाई सम्हाल्न उहाँलाई निकै गार्‍हो भएको छ ।

आँखाभरी आँसु बगाउदै उहाँ भन्नुहुन्छ, ‘मेरो आशा र भरोसा नै उनी थिइन्’ यति बोल्न नसक्दै उहाँ भक्कानिसक्नु भएको थियो । एक मात्र छोरीलाई डाक्टर पढ्न बंगलादेश पठाएको उहाँले बताउनुभयो । ‘परिणाममा मैले मृत शरीर पाउने भएँ ।’ उहाँको आँखाबाट आँशु झार्दै भन्नुभयो । उहाँको श्रीमानसँग पनि सम्बन्धविच्छेद भइसकेको छ । एक्लै बस्दै आउनु भएकी उर्मीलाका छोरीको मृत्यु भएपछि बुढेसकालको साहारा पनि खोसिएको छ ।

छोरीलाई डाक्टर पढाउने सपना पूरा गर्न उहाँले छोरी श्वेता थापालाई डाक्टर पढ्न बंगलादेश पठाउनु भयो । तर अब उहाँकी छोरीले कहिले पनि आमालाई भेट्न आउँदिनन् । उहाँले भन्नुभयो ‘भएका सारा आशा र भरोसा नै नरहेपछि बचेको आफ्नो जिन्दगीको अर्थ छैन ।’ उर्मीलाले आफ्नो छोरीको शवलाई पर्खिरहनु भएको छ । तर शव पनि पाउन मुस्किल भएपछि उहाँलाई झन् दुखेको घाउमा नुन छर्केको जस्तै भएको छ ।

हरिशरण र उर्मीलाजस्तै  टिचिङ हस्पिटलको फोरेन्सिक विभाग अगाडि आफन्त गुमाएर पीडाले विक्षिप्त भएका मानिसहरुको संख्या धेरै छ । चैत महिनाको गर्मी मौसममा पनि उनीहरु घाम र पानीको कुनै परवाह नै नगरी छट्पटाइरहेका छन् । आँखाभरी आँसु, निन्याउरो अनुहार लिएर बसेका उनीहरुलाई शव कहिले पाउने भन्ने अझै निश्चित छैन ।

आफन्तको आक्रोश

फागुन २८ गते सोमबार भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक विभागमा राखिएको छ । शवको पहिचान गर्न समस्या परेको अस्पतालले जनाएको छ । तर मृतकका परिवारले एक साता बित्दा शव पाउन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

पोष्टमार्टम रिपोर्ट ढिलाई हुँदा शव बुझ्न नपाएका आफन्तहरुलाई पीडामाथि थप पीडा भएको छ । मृतककका आफन्तहरु भन्छन्, ‘सरकारको यो चरम बेवास्ता हो’ हाम्रो छट्पटीलाई सरकारले बुझ्न सकेन । सरकारले शवको तत्काल पहिचान गरी आफन्तलाई बुझाउन किन चासो देखाउँदैन ?’

मृतक डा.बालकृष्ण थापाका आफन्त प्रल्हाद थापाको पनि उस्तै गुनासो थियो, ‘शव बुझेर दाहसंस्कार गर्न पाए मन शान्त बनाउन सकिन्थ्यो तर यो ढिलाईले थप पीडा मात्र दिइरहेको छ ।’

पोष्टमार्टममा किन ढिलाई ?

विमान दुर्घटना भएको दिनबाट नै पोस्टमार्टम गर्न थालिएको थियो । शवको पोष्टमार्टम गर्न ४ समूह बनाएर खटिएको छ । १५ चिकित्सक पोष्टमार्टममा निरन्तर खटेर काम गरिरहेको अस्पतालले जनाएको छ । निरन्तर प्रयास गर्दा पनि ११ शव भन्दा दैनिक पोष्टमार्टम गर्न नसकिएको विभागको भनाइ छ । शवको पहिचान गर्न समस्या भएकोले पनि ढिलाई भएको हो ।

शवको अवस्था पहिचान गर्न नसकिने भएकाले ढिलाई भएको हो । मृतकको लुगा, कपडा, शरीरको खत, कोठी, अनुहारको आकृतिलगायतको आधारबाट शवको पहिचान गर्ने काम भइरहेको छ ।’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक विभागका उप–प्राध्यापक डा.रिजन श्रेष्ठले बताउनुभयो ।

चार समूहमा पहिलो समूहले प्रहरीले संकलन गरेको निधन भएकाहरुको पहिचान खुल्ने सामग्री संकलन गरिएको थियो । दोश्रो र तेस्रो समूहले शव परीक्षण र चौथो समूहले पहिचान हुन सक्ने गरी मृतकका आफन्तसँग विवरण भरेका थिए । शनिबार नभए आइतबारसम्म पहिचान खुलेका शव आफन्तलाई हस्तान्तरण गर्ने विभागले जनाएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter