काठमाडौँ, २६ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार निर्माणमा भएको अनियमितताबारे इन्जिनियरिङ प्रयोगशालाबाट अध्ययन सुरु गरेको छ ।

अख्तियारसँग पूर्वाधारमा प्रयोग भएको सामग्रीको अध्ययन गर्ने आफ्नो प्रयोगशाला नहुँदा प्रभावकारी अनुसन्धान हुन सकेको थिएन । हालै भारतबाट खरिद गरिएको इन्जिनियरिङ प्रयोगशालाले पहिलोपटक खोटाङको जयरामघाट हलेसी पक्की सडकको नमुना संकलन गरी अध्ययन गरिरहेको अख्तियार स्रोतले जनाएको छ ।

सार्वजनिक पूर्वाधार निर्माणको गुणस्तर कायम होस् र आर्थिक वर्षको अन्त्यमा धमाधम गुणस्तरहीन काम गरेर बजेट खर्च गर्ने प्रवृत्ति रोकियोस् भन्ने उद्देश्यले इन्जिनियरिङ प्रयोगशाला प्रयोगमा ल्याइएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले बताए ।

पूर्वाधार निर्माणमा तोकिएको मापदण्डअनुसारको सामग्री प्रयोग भएनभएको नमुना संकलन गरी ल्याबमा राखेर परीक्षण गरी दोषीमाथि कारबाही अघि बढाइनेछ ।

कुनै पनि भौतिक संरचना निर्माण गर्दा प्रयोग भएका सामग्री मापदण्ड अनुसारका छन् कि छैनन् भनी थाहा पाउन नमुना संकलन गरी ल्याबमा परीक्षण गरिनेछ । परीक्षणका आधारमा अख्तियारले कहाँ केकति कमीकमजोरी छ, त्यसको आधारमा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउने बताएको छ ।

पूर्वाधार निर्माणमा तोकिएको मापदण्डअनुसारको सामग्री प्रयोग भएनभएको पत्ता लगाउन नमुना संकलन गरी ल्याबमा राखेर परीक्षणपछि दोषी भेटिए कारबाही अघि बढाइनेछ । निर्माण सम्पन्न भएका अथवा निर्माण हुँदै गरेका सबै आयोजनाको नमुना संकलन गरी अध्ययन गर्ने कार्य अख्तियारबाट हुने प्रवक्ता मैनालीले बताए ।

अख्तियारले उजुरीका र आशंकाका आधारमा छानबिन गर्ने गरेको छ । पूर्वाधार निर्माणका बारेमा परेका उजुरीमा प्रमाण संकलन गर्न कठिनाई परेकाले अख्तियारलाई यस विषयमा कारबाही चलाउन समस्या भएको थियो । अख्तियार प्रवक्ता मैनालीले भने, ‘भौतिक पूर्वाधारको नमुना संकलन गरी बाहिरको प्राइभेट प्रयोगशालामा लगेर अन्य पक्षसँग भर पर्नुपर्ने र अरुसँग आश्रित भएर अख्तियारले निर्णय गर्नुपर्ने अवस्था आउने गरेकाले पूर्वाधार निर्माणमा भएको भ्रष्टाचारको प्रभावकारी अनुसन्धान हुन सकेको थिएन ।’

अहिलेसम्मको कारबाहीलाई हेर्दा अख्तियारले घुस लिई भ्रष्टाचार गरेका विषय, झुटो शैक्षिक योग्यताको प्रमाणपत्रसम्बन्धी विषय, सार्वजनिक सम्पत्तिको हानिनोक्म्सानीसम्बन्धी विषय, गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेका विषय र राजस्व चुहावट गरी भ्रष्टाचार गरेका विषयमा मुद्दा चलाउँदै आएको छ । तर पूर्वाधारमा परेका उजुरीमा प्रमाण संकलन गर्न कठिनाइ परेकाले अख्तियारले यस विषयमा प्रभावकारी कारबाही चलाउन सकेको थिए ।

अख्तियारमा हुलाक, इमेल, आयोगको वेबसाइटमा व्यवस्था भएको अनलाइन उजुरी, फ्याक्स, टोल फ्री नम्बरमा भ्वाइस रेकर्डिङमार्फत तथा व्यक्तिहरु आफैं आई उजुरी दर्ता गराउन सक्ने व्यवस्था छ । अख्तियारमा परेका उजुरीहरुमध्ये केहीको अनुसन्धान इन्जिनियरिङ ल्याबबाट हुने भएको छ ।

अख्तियारको केन्द्रीय कार्यालयमा यस बर्ष १३ हजार ९३ उजुरी परेका छन् भने इटहरी, धनकुटा कार्यालयमा १२ सय २७, हेटौंडारबर्दिबास कार्यालयमा १४ सय ४६, पोखरा ,बुटवल कार्यालयमा १५ सय ६२, सुर्खेतरकोहलपुरमा ११ सय ८४, महेन्द्रनगर, दिपायलमा १० हजार ६८ उजुरी परेका थिए ।

साधन र स्रोतको अभावमा केही उजुरीमा अझै अनुसन्धान हुन सकेका छैनन ।अख्तियारले नमुना संकलन गर्न र ल्याबमा परीक्षणका लागि इन्जिनियरलाई तालिम दिएको छ । अख्तियारले क्षमता विकासलाई उच्च प्राथमिकता दिने काम जारी राखेको छ ।

प्रयोगशालाबाट पनि क्षमताको विकास भई अध्ययन अनुसन्धान प्रभावकारी हुने अख्तियारले जनाएको छ । सन् २०१४ देखि २०१९ सम्म अख्तियारले मानव संसाधन क्षमता विकास गर्ने रणनीति लिएको छ । अख्तियारले सूचना संकलन, स्ट्रिङ कारबाहीसम्बन्धी क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गरिरहेकोे छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter