लेखक : भीम कार्की
लेखक : भीम कार्की

२००६ साल वैशाख १० गते (१९४९ अप्रिल २२ तारिख ) मा कलकत्ताको मोहन वगानमा विधिवत रुपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । यस भन्दा अगाडी पनि नेपाली युवा विद्यार्थीहरुले विभिन्न भारत र नेपालका स्थानमा माक्र्सवादी अध्ययन समूहहरु बनाएका थिए । भारतका विभिन्न स्थानमा भारतीय कम्युनिष्ट पार्टी र त्यहाँका कम्युनिष्टहरुको संगतले धेरै युवाहरु कम्युनिष्ट पार्टी र माक्र्सवादप्रति आकर्षित भएका थिए । जे होस सबै खालका अध्ययन मण्डल र कम्युनिष्ट राजनीति प्रति आकर्षितहरु सम्पूर्णलाई भेला गर्न नसके पनि काठमाण्डौंमा रहेका केही उत्साही युवाहरुले राणा शासनको कष्टसाध्य समयमा स्पष्ट दृष्टिकोण, नीति, कार्यक्रम सहित पार्टी उदेश्य स्पष्ट किटान गरेर कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

कम्युनिष्ट आन्दोलन अत्यन्तै तिव्रता पूर्वक अगाडी वढीरहेको थियो । जनतामा पार्टीप्रति विश्वास भरोसा र समर्पण थियो । जनताको ठूलो पक्तिंलाई पार्टीमा गोलबन्द एकाकार गर्दै लैजानुपर्ने थियो । जनताको पक्षमा, राष्ट्रियताको पक्षमा, सामाजिक, आर्थिक, साँस्कृतिक परिवर्तनको पक्षमा कम्युनिष्ट पार्टीले अग्राणी भूमिका निर्वाह गरिरहेको थियो । त्यसलाई विश्वासको वातावरण सिर्जना गर्न पार्टीको नेतृत्व एक ढिक्क, एकजुट, एकमत भएर लाग्नु पर्ने थियो । आन्दोलनमा छिरेको संसोधनवादी, पलायनवादी, षडयन्त्रकारीलाई जितेर जनताका वास्तविक सेवकहरुले नेताहरुले आन्दोलन विकास गर्नुपर्ने थियो । तर छोटो समयमा नै पार्टीभित्र नीति, कार्यक्रम र नेतृत्वलाई लिएर वादविवाद मतभेदहरु हुन थाले । त्यसलाई विधिसम्मत छलफल गरी ढुङ्गो लगाउनु पर्ने थियो । त्यसलाई पनि व्यवस्थित तरिकाले आन्तरिक जनवादको प्रयोग गरी हल गर्न लाग्नु पर्ने थियो । अनुभवको कमीले हो या राष्ट्रिय र अन्तराष्ट्र्रिय विभिन्न कारणले होस, त्यस्तो व्यवस्थापन भएको देखिएन । पार्टीभित्र वादविवाद, मतभेदलाई स्वस्थ्य ढंगले संचालन गर्न नसकेको कारणले कम्युनिष्ट पार्टी भित्र मतभेदहरु एकपछि अर्को गरी बढ्दै गएको देखिन्छ ।

६८ औं वर्ष पुरा गरी ६९ औं वर्षमा नेपालको कम्युनिष्ट आन्दोलन प्रवेश गर्दै छौ । यस अवधीमा आन्दोलनभित्र धेरै आरोह–अवरोह आए । आन्दोलन निरन्तर रुपमा अगाडी बढ्यो । जनताको पक्षमा धेरै उपलब्धी हासिल भएको छ । कम्युनिष्टहरुको पक्षमा स्पष्ट बहुमतको स्थितिमा जनमत छ, तर पनि कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुन सकिरहेको अवस्था छैन, हिजोदेखि आजसम्म विभिन्न कम्युनिष्ट पार्टीहरु विभिन्न विचार लिएर जनताको पक्षमा काम गरिरहेका छन् । आ–आफ्ना कार्यनीति लिएर जनता बीचमा पुगेको अवस्था छ । यस अवधीमा कुन पार्टीको नीति, विचार, कार्यक्रम के रह्यो भन्ने सवालमा छलफल गर्दा निकै लामो बहस छलफल चलाउनुपर्ने हुन्छ, अहिले त्यो पाटोलाई थाती राख्दै हामी यो ६९ वर्षमा कति कम्युनिष्ट पार्टी जन्म भए ? कति पार्टी फुटेर के के पार्टी बने ? ती पार्टीको मुख्य नेतृत्वमा को रहनु भयो ? कसले त्यो पार्टीको नेतृत्व गर्नुभयो ? यस विषमा टिपोटको रुपमा छोटो चर्चा गर्ने जमर्को गरिएको छ । यसमा पार्टीको मुख्य पद महासचिव, महामन्त्री, अध्यक्षमा को को रहनु भयो ? यस विषयमा केही जानकारी गराउने, खोज्ने पढन रुची भएका साथीहरुलाई यसो सानो विषयवस्तु हुनेछ भन्ने विश्वास लिएको छु । झण्डैं यस अवधीमा ५० पटक कम्युनिष्ट आन्दोलनमा फुट आएको छ, एकीकरणको अभियान पनि तिव्र ढंगले अगाडी बढेको छ । अब जनताको पक्षमा राष्ट्रको पक्षमा जनजिविकाको सवालमा, आर्थिक समृद्धि र उच्च जीवनस्तर निमार्ण गर्ने पार्टीको अहिलेको आवश्यकता हो, झिना मसिना, टुटे फुटेको कम्युनिष्ट पार्टी होइन, सिङ्गो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता हो । यही काममा हाम्रो योगदान हुनेछ र सही विचार र नेतृत्व भएको पार्टीलाई बहुमतका साथ स्थापित गर्नु हाम्रो कर्तव्य हो । कम्युनिष्ट पार्टीको नेतृत्व कसले कुन समयमा गर्नुभयो ? चर्चा गरौं ।

१) पुष्पलाल श्रेष्ठ

  • २००६ सालमा पार्टीको संस्थापक महासचिव हुनुभयो । २००९ सालसम्म कम्युनिष्ट पार्टीमा फुट हुन थालेपछि २०२५ जेठ २–३ गते बहुमत केन्द्रीय सदस्य लिएर पार्टी पुनगर्ठन गर्नुभयो र त्यस पार्टीको महासचिव २०३५ श्रावण ७ गते सम्म ।

 

 

२) मनमोहन अधिकारी

  • २००९ सालको पार्टी प्रथम सम्मेलनबाट पुष्पलाललाई हटाई मनमोहनलाई महासचिव नियुक्त गरियो ।
  • २०१० सालको प्रथम महाधिवेशनबाट महासचिव निर्वाचित हुनुभयो २०१३ सम्म ।
  • २०२८ मंसिर २० गते केन्द्रीय न्यूक्लस गठन र सचिव केही समय ।
  • २०३६ मा केही साथीहरु मिलेर पार्टी गठन त्यसको महासचिव २०४३ सम्म ।
  • २०४३ चैत्र १४–१७ मा साहाना प्रधानको पार्टीसँग एकता गरी नेकपा (माक्सवादी) गठन र त्यसको महामन्त्री २०४७ सम्म ।
  • २०४७ पौष २३ गते नेकपा (मा–ले) सँग नेकपा (माक्र्सवादी)को एकतापछि नेकपा (एमाले)को अध्यक्ष २०४९ सम्म ।
  • २०४९ को पाँचौं र २०५४ को छैटौ महाधिवेशनबाट नेकपा (एमाले) को अध्यक्ष २०५७ जेठ १३ गते सम्म ।

३) केशरजंङ्ग रायमाझी

  • २०१३ सालमा मनमोहन चीन जादा का.वा महासचिव २०१४ सम्म ।
  • २०१४ पार्टीको दोस्रो महाधिवेशनबाट महासचिव चयन २०१८ सम्म ।
  • २०१८ मा पार्टीबाट निष्काशित राजावादी भएको आरोपमा ।
  • २०२३ मा तेश्रो सम्मेलन गरेर कम्युनिष्ट पार्टी गठन र महासचिव २०४३ साल सम्म ।
  • २०४३ मा पार्टीबाट निष्काशित, पंचायतमा प्रवेश गरी राजसभा स्थायी समिति सदस्य र सभापति ।

४) तुल्सीलाल अमात्य

  • २०१९ सालको तेश्रो महाधिवेशनबाट नेकपाको महासचिव ।
  • पार्टीमा फुट आएपछि नेकपा(अमात्य)  समुह गठन र क्रियाशिल ।
  • २०४७ सालमा नेकपा (संयुक्त) गठन, २०५० सालमा भदौ १९ गते एमाले प्रवेश ।

 

५) मोहनविक्रम सिंह

  • पार्टीहरु फुटेपछि २०३१ भदौ ३० देखि असोज ७ सम्म चौथो महाधिवेशन गरी नेकपा (चौथो महाधिवेशन) को महासचिव २०३५ सम्म ।
  • २०३८ मा नेकपा चौ. म. फुट भई नेकपा (मशाल)को महासचिव २०४२ सम्म।
  • २०४२ मा नेकपा मशालमा फुट भई नेकपा (मसाल) निर्माण गरि त्यस पार्टीको महासचिव, हालसम्म

 

६) मोहन वैध

  • २०३८ मा चौथो महाधिवेशन समूहको महासचिव केही समय नेतृत्व ।
  • २०४२ मा नेकपा (मशाल) बाट मोहन विक्रम सिंहलाई कार्वाही गरेपछि महासचिव, २०४३ सालसम्म ।
  • २०६८ मा एकीकृत माओवादीबाट फुटेर, नेकपा क्रान्तिकारी माओवादी गठन गरी अध्यक्ष हालसम्म ।

 

७) नारायणमान विजुच्छे

  • नेपाल कम्युनिष्ट पार्टी फुटपछि २०३१ साल माघ १० गते नेपाल मजदूर किसान सभा गठन र त्यसको अध्यक्ष २०३७ सम्म ।
  • २०४७ माघबाट नेपाल मजदूर किसान पार्टी गठन र त्यसको अध्यक्ष हालसम्म ।

 

 

८) विष्णुबहादुर मानन्धर

  • २०३८ साल रायमाझीको पार्टी सँग विद्रोह गरी नेकपा (मानन्धर) गठन गरी महासचिव २०४७ सम्म ।
  • २०४७ मा नेकपा (प्रजातन्त्रवादी) गठन गरी त्यस पार्टीको महासचिव २०४८ सम्म ।
  • २०४८ श्रावण २० मा ३ वटा पार्टी एकीकरण गरि नेकपा (संयुक्त) बनाई महासचिव २०५९ सम्म ।

 

९) कृष्णराज बर्मा

  • २०४० सालमा रायमाझीको पार्टीसँग विद्रोह गरी नेकपा (बर्मा) समुह गठन र महासचिव २०४८ सम्म ।
  • नेकपा (संयुक्त) २०४८ मा निर्माण गरि कार्यरत हुँदै २०५३ मा एमाले प्रवेश ।

 

 

१०) निर्मल लामा

  • २०३५ सालमा नेकपा (चौ.म) मा मोहन विक्रम सिंहलाई कार्वाही गरेपछि महासचिव २०३६ सम्म । २०३८ साल देखि २०४० सम्म पुन सोही पार्टीको महासचिव ।
  • २०५१ मा नेकपा एकता केन्द्रमा फुटाएर नेकपा (माओवादी) बनाएपछि नेकपा एकता केन्द्रको महासचिव २०५७ सम्म ।

११) सि.पि. मैनाली

  • २०३२ जेठमा अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेशन केन्द्र गठन त्यसको महासचिव २०३५ सम्म ।
  • २०३५ पौष ११ गते नेकपा (मा–ले) गठन र त्यसको महासचिव २०३९ सालसम्म ।
  • २०५९ सालमा नेकपा (मा–ले) नेकपा (एमाले)मा विलय पश्चात पुनः पार्टी पुनर्गठन गरी त्यस पार्टीको महासचिव हालसम्म ।

 

१२) झलनाथ खनाल

  • २०३९ जेठमा नेकपा (मा–ले) ले महासचिवबाट सि.पी. मैनालीलाई हटाएपछि महासचिव २०४६ सालसम्म ।
  • २०६४ मा नेकपा (एमाले) को महासचिवबाट माधव नेपालको राजीनामा आएपछि २०६५ साल सम्म महासचिव ।
  • २०६५ सालको आठौं महाधिवेशनबाट नेकपा (एमाले) को अध्यक्ष २०७१ सम्म ।

१३) मदन भण्डारी

  • २०४६ साल भदौमा भएको नेकपा (माले) को चौथो महाधिवेशनबाट महासचिव चयन भई २०४७ सम्म पार्टीको नेतृत्व ।
  • २०४७ पौष २३ गते नेकपा (माले) र माक्र्सवादी एकता पछि नेकपा (एमाले)को महासचिव २०४९ सम्म ।
  • २०४९ को नेकपा (एमाले) को पाँचौ महाधिवेशनबाट महासचिव चयन २०५० जेठ ३ गते सम्म नेतृत्व  ।

 

१४) माधव नेपाल

  • २०५० जेठ ७ गते नेकपा (ए–माले) को महासचिव नियुक्त ।
  • २०५४ को नेकपा (एमाले)को छैठौं महाविधवेशनबाट पुन महासचिव २०५९ सम्म ।
  • २०५९ को नेकपा (एमाले) को सातौं महाविधवेशनबाट पुन महासचिव २०६४ सम्म ।
  • २०६४ मा नैतिकताको आधारमा महासचिवबाट राजीनामा गर्दा सम्म ।

१५) साहना प्रधान

  • २०३७ श्रावण ७ गते पुष्पलालको निधनपछि २०३७ भाद्रमा बसेको बैठकले नेकपाको महासचिव चयन र २०४३ सम्म नेतृत्व ।
  • २०५४ मा नेकपा (एमाले) फुट भई नेकपा (माले) बनेपछि त्यस पार्टीको अध्यक्ष २०५८ सम्म ।

 

 

१६) बलराम उपाध्याय

  • क.पुष्पलालको निधन पछि (२०३५ श्रावण ७ ) पश्चात पार्टीको मुख्य नेतृत्व गर्दै साहाना प्रधानलाई प्रमुख बनाएर पार्टी परिचालन २०४३ सालसम्म ।

१७) बामदेव गौतम

  • २०५४ फागुन २१ गते नेकपा(एमाले) विभाजन गरी नेकपा (मा–ले) गठन र त्यसको महासचिव २०५८ सम्म, त्यसपछि एमाले प्रवेश ।

 

१८) रुपलाल विश्वकर्मा

  • २०३८ सालमा नेपाल मजदूर किसान सभाबाट रोहितलाई कार्वाही गरेपछि त्यस पार्टीको अध्यक्ष  केही समयसम्म ।
  • २०४२ तिर सर्वहारावादी श्रमिक संगठन निमार्ण गरी त्यस पार्टीको महासचिव २०४७ सम्म । त्यसपछि यो पार्टी लगायतको नेकपा (एकता केन्द्र) बन्यो । २०५३ पछि उहाँले कम्युनिष्ट आन्दोलन त्याग्नुभयो ।

 

१९) श्याम प्रसाद शर्मा

  • नेपाल मजदुर किसान सभा (अति गोप्यवादी) गठन गरी उहाँले २०४८ सम्म पार्टी संचालन गर्नुभयो र त्यसपछि सम्पूर्ण कार्यकर्ता एमालेमा प्रवेश गर्नुभयो ।

 

२०) पुष्पकमल दाहाल

  • २०४३ सालमा सेक्टर काण्डपछि नेकपा (मशाल)का महासचिव मोहन वैद्यलाई हटाई महासचिव ।
  • २०४७ साल मंसिर ४ मा मशाल, चौ.म, सर्वहारावादी श्रमिक संगठन, विद्रोही मसाल मिलेर नेकपा (एकता केन्द्र) गठन र त्यसको महासचिव २०५१ सम्म ।
  • २०५१ साल जेठ १६–२१ नेकपा (एकता केन्द्र) फुटाई नेकपा (माओवादी) गठन र त्यसको महासचिव, अध्यक्ष हाल सम्म ।

 

२१) बाबुराम भट्टराई

  • २०४६ मा मोहन विक्रम सिंहको नेकपा (मसाल) समूहमा विद्रोह गरी विद्रोही मसालको संयोजक केही समय सम्म ।
  • २०४७ मा नेकपा (एकता केन्द्र) को खुल्ला मोर्चा संयुक्त जनमोर्चाको अध्यक्ष २०५१ सम्म ।
  • हाल कम्युनिष्ट आन्दोलनबाट पलायन ।

२२) चन्द्रदेव जोशी

  • २०५९ तिर नेकपा (संयुक्त) को महासचिव हाल सम्म ।

 

 

 

२३) चित्रबहादुर के.सी.

  • नेकपा (चौ.म) को २०४१ सालमा चित्रबहादुर के.सी. केही समय महामन्त्री हुनुभयो । २०४२ मा नेकपा (मसाल) मा प्रवेश गर्नुभयो । २०५० सालतिर नेकपा (मसाल)को खुल्ला संगठन राष्टिीय जनमोर्चा नेपाल गठन गरी त्यसको अध्यक्ष हालसम्म ।

 

२४)  नन्दकुमार प्रसाई

  • झापाका नन्द कुमार प्रसाईले २०३६ सालतिर नेपाल माक्सवादीले लेनिनवादी पार्टी गठन गर्ने, कहिले एक्लै हुने यस्तै रह्यो उहाँको स्थिति । नेपाल सम्यवादी पार्टीको गठन गरी त्यस पार्टीको अध्यक्ष हुनु भयो ।

 

 

२५) शम्भुराम श्रेष्ठ

  • २०३७ तिरबाट नेपाल कम्युनिष्ट लिंग गठन गरी त्यसको प्रमुख हुनुभयो । पछिल्लो अवधिमा एमाले प्रवेश गर्नुभयो ।

 

२६) कृष्णदास श्रेष्ठ

  • उहाँले २०३७ बाट माक्र्सवादी लेनिनवादी माओवादी पार्टी संचालन गर्नुभयो । पछिल्लो समयमा नेकपा(एमाले) प्रवेश गर्नुभयो ।

 

 

२७) भक्तबहादुर श्रेष्ठ

  • २०३६ सालमा नेकपा (चौ.म)ले महासचिव निर्मल लामालाई हटाई केही समय भक्त बहादुर श्रेष्ठलाई महासचिव चयन गरेको थियो ।

 

२८) नरबहादुर कर्मचार्य

  • २०४७ सालमा नेकपा (मसाल), नेकपा (चौ.म), सर्वहारावादी श्रमिक संगठन र विद्रोही मसाल मिलि नेकपा (एकता केन्द्र) निर्माण भएपछि त्यसको अध्यक्ष नरबहादुर कर्मचार्यलाई बनाईयो २०५१ सम्म ।

 

 

२९) रुपचन्द्र विष्ट

  • ०४६ सालपछि बहुदल प्राप्त भयो । त्यसपछि मकवानपुरका थाहा आन्दोलनका रुपचन्द्र विष्टले नेकपा (जनमुखी) पार्टी खोल्नु भएको थियो । पछि एकता केन्द्रमा प्रवेश गर्नुभयो ।

 

३०) डि बि सिंह

  • ख्क्ष्ए भ्वाइस अफ इन्टरनेशनल प्रोलेटारियट कम्युनिष्ट पार्टीको नाममा उक्त समूह खोली बेला बखत वक्तव्य बाजी गरेको देखिन्छ ।

३१) मणि थापा

  • नेकपा (माओवादी) सँग विद्रोह गरी मणि थापाले साँस्कृतिक समूह निमार्ण गर्नुभयो । २०६२ तिर नै नेकपा (माओवादी) परित्याग गर्नुभएको थियो  । हाल सालै उहाँ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

 

 

३२) मातृका यादव

  • २०६७ सालमा एकिकृत नेकपा ( माओवादी ) सँग विद्रोह गरी मातृका यादवले नेकपा (माओवादी) गठन गरी गतिविधि संचालन गर्नुभयो । यस पटक भने माओवादी केन्द्र गठन गरी पुन ः पार्टीमा समाहित हुनुभयो ।

 

३३) रामसिंह श्रीस

  • नेपाल कम्युनिष्ट पार्टी निमार्ण गरी रामसिंह श्रीसलाई महासचिव बनाईएको छ २०६७÷०६८ तिर अहिले त्यसको कुनै गतिविधि देखिदैनन् ।

 

 

३४) प्रभुनारायण चौधारी

  • नेकपा (एमाले) सँग असन्तुष्ट भई २०४८ सालमा केही पुराना कमरेडहरुले नेकपा (१५ से) पार्टी गठन गरी प्रभुनारायण चौधरीलाई अध्यक्ष बनाई बेला बखत केही गतिविधि गरे पनि पार्टी टिक्न सकेन । हाल त्यस पार्टीका केही नेता स्वतन्त्र बामको नाममा रहनु भएको छ ।

 

३५) नेत्र विक्रम चन्द “विप्लप”

  • एकीकृत माओवादीबाट बिद्रोह गरि नेकपा क्रान्तिकारी माओवादी गठन गरी मोहन बैद्यले नेतृत्व गर्नुभयो । त्यसबाट समेत विद्रोह गरी शसस्त्र संघर्षको कार्यनीति लिएर नेत्र विक्रम चन्दले नेकपा (माओवादी) गठन गर्नुभएको छ ४ वर्ष अगाडी देखि । हालयस पार्टीका गतिविधिहरु देखा परेका छन् । उहाँ यस पार्टीको महासचिव हुनुहुन्छ ।

 

३६) के.पी. ओली

  • २०२८ मा झापा जि.क., कोअर्डिनेशन कमिटी बने पश्चात २०२९ श्रावण महिनामा के.पी. ओली उक्त पार्टीको सचिव चयन हुनुभयो  २०२९ फागुन सम्म ।
  • २०७१ साल असारमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनमा के.पी. ओली अध्यक्षमा निर्वाचित भई हालसम्म नेकपा(एमाले) को नेतृत्व गरिरहनु भएको छ ।

 

माथि उल्लेखित नेताहरु र पार्टीहरुका बारेमा छोटो चर्चा गरियो । यो विभिन्न काल खण्डमा भएका घटनाक्रम र अहिलेको वस्तुगत स्थिति पनि हो । कम्युनिष्ट आन्दोलनमा मुख्य गरी नेकपा (एमाले)को भूमिका २०४६ अधि र पछि पनि प्रमुख बनेको छ । २०५२–२०६२ सम्म माओवादीको शसस्त्र आन्दोलनले प्रभाव पा¥यो । त्यस समय अन्य पार्टीका गतिविधि केही सुस्त देखिए पनि शान्तिपूर्ण जनआन्दोलनबाट लोकतन्त्रको स्थापना र संविधान सभाबाट राजतन्त्रको अन्त्य भयो । पहिलो संविधान सभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधान सभाले संविधान  जारी गरेको छ । अब यसको कार्यन्वयनको पाटो चुनौती पूर्ण छ । यस काममा पनि कम्युनिष्ट पार्टीको भूमिका मुख्य हुनेछ । विश्वको उत्कृष्ट मध्यको एक र समाजवाद उन्मुख संविधान कार्यन्वयन गरी राष्ट्रलाई विकसित बनाई जनताको जीवनस्तर समृद्ध बनाउने काममा कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा (एमाले) को काँधमा गहन जिमेवारी थपिएको छ । यस काममा हामी सबैले सहयोग गर्नु अहिलेको मुख्य काम हो । नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउदै समृद्ध राष्ट्र निर्माण गर्ने र खुसी नेपाली बनाउने कार्यमा अगाडी बढौँ ।

सन्दर्भ सामग्री :–

  • नेपालमा साम्यवादी आन्दोलन विगत र वर्तमान अवस्था — भीम रावल ।
  •  नेपाल कम्युनिष्ट आन्दोलनको इतिहास भाग १ र २— सुरेन्द्र केसी
  • विभिन्न फुटकर लेख रचनाहरु

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter