काठमाडौं, वैशाख २६— भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपालीलाई भिसा अनिवार्य गरेको छ। राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको ठानिएको बेला भारतले अनपेक्षित व्यवहार गरेको छ।
तेस्रो देशबाट नेपाल आउन वा नेपाल हुँदै भारत फर्किन भारतीय नागरिकले नेपालको भिसा लिनु पर्दैन । तर भारतले नेपाली र भूटानी नागरिकलाई कडाई गर्दै लगेको छ ।

चीन र पाकिस्तानबाट हवाई मार्ग भएर भारत वा भारत हुँदै स्वदेश फर्किँदा यसअघि पनि नेपाली र भूटानी नागरिकले भारतीय भिसा लिनुपर्ने व्यवस्था थियो । तर, यसबर्षदेखि मालदिभ्स, हङकङ र मकाउ थपिएको छ ।

भारतको त्रिवेन्द्रमस्थित अध्यागमन कार्यालयले एयर इन्डियाको एयरपोर्ट म्यानेजरलाई सम्बोधन गरेर पठाएको सर्कुलरमा नेपाली र भूटानी नागरिकलाई चीन, हङकङ, मकाउ, मालदिभ्स र पाकिस्तानबाट भारत आउँदा अनिवार्य प्रवेशाज्ञा भएको सुनिश्चित हुनुपर्ने उल्लेख छ । यी देशबाट भिसा विना नेपाली वा भूटानी यात्रु ल्याएको पाइएमा भारतीय गृह मन्त्रालयले जारी गरेको ‘क्यारिअर लायविलिटी एक्ट’ अनुसार कारबाही हुने उक्त सर्कुलरमा उल्लेख छ । तर पछिल्लो निर्णयबारे भारतको अध्यागमन व्युरोले आधिकारिकरुपमा सूचना सार्वजनिक गरेको छैन भने नेपाललाई औपचारिक जानकारी पनि गराएको छैन ।

‘हामीले पनि सुनेका छौँ, तर औपचारिक जानकारी आएको छैन । हामी यसबारे बुझ्छौँ’ परराष्ट्रमन्त्रालयका प्रबक्ता भरतराज पौड्यालले नयाँ पत्रिकासँग भने । उनका अनुसार तेस्रो देशबाट नेपाल आउन वा नेपाल भएर भारत जाने भारतीय नागरिकले नेपाली प्रवेशाज्ञा लिने व्यवस्था छैन ।

गृहमन्त्रालयका एक अधिकारीका अनुसार हङकङ,मकाउ, मालदिभ्सबाट भारत भएर फर्किँदा नेपालीलाई भिसा जरुरी थिएन । ‘भारतले हाम्रा नागरिकलाई यस्तो व्यवहार गर्छ भने हामीले पनि यसबारे सोच्नुपर्ने हुन्छ,’ ती अधिकारीले भने, ‘उसले निःशुल्क भिसा दिओस् कि पैसा लिओस् भन्ने कुराले अर्थ लाग्दैन, समान व्यवहार हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

recentnepal.com बाट साभार 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter