काठमाण्डौ, २२ जेठ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार हुने गरेको बताएका छन् ।
मंगलबार नेपालका लागि चिनका राजदुत यु होङसँग भेटवार्ता गर्दै गृहमन्त्री थापाले सुन तस्करी र डलरको अवैध कारोबार हुने गरेको बताउँदै त्यसको नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् ।
जवाफमा राजदुत होङले त्यस विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएकी छन् ।
थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि उनीसँग आग्रह गरेका थिए ।
उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता व्यक्त गरेका थिए ।
भेटमा राजदुत होङले गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेकोमा चीनका सामाजिक सुरक्षा मन्त्रीले पठाएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गरेकी थिइन् ।
होङले नेपाली सुरक्षा निकायलाई चिन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगमी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता समेत व्यक्त गरिन् ।