जेठ ३ मा एमाले र माओवादी एकतापछि नेपाली राजनीतिमा विभिन्न चर्चा परिचर्चा सुरु भएको छ । एकताले विगतमा एकअर्काको कटु आलोचना गर्ने दुई पार्टीका नेता तथा कार्यकर्तालाई एउटै मालामा उनेको छ । र, बनेको छ सबैको छ दुवैको साझा पार्टी– नेपाल कम्नुनिष्ट पार्टी ।

एकतापछि देखिएको एउटा रोचक पक्ष पनि छ । त्यो हो, पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको मिलन । विगतमा एकअर्काको कट्टर आलोचना गर्ने यी दुई कसरी एक भए त ? प्रश्न सबैको मनमा छ । आ–आफ्नो गुटमार्फत उकअर्कालाई टक्कर दिँदै हिँडेका यी दुई नेताको मिलनको प्रशंग भने रोचक छ ।

 

  • स्रोतकाअनुसार ओलीले नेपाललाई आउँदो महाधिवेशनमा अध्यक्षका लागि समर्थन गर्ने बाचाका साथ आफ्नो पकडमा पार्न सफल भए । र, त्यसपछि यी दुईको सम्बन्ध सुध्रियो । 

मिलनको संकेत
दृश्य १ः ओली र नेपालको मिलन भएकै हो र यी दुई आत्मिय भएका हुन् भन्ने बुझ्न धेरै टाढा जानै पर्दैन । ओलीको चीन भ्रमणअघि र पछि विमानस्थलमा देखिएका दुई दृश्यलाई नियाले पुग्छ । पार्टी एकताअघि ओलीको भ्रमणका क्रममा विमानस्थल पुग्नु त के त्यसको छेउछाउसमेत पुग्दैनथे । तर, हालै प्रधानमन्त्रीको रुपमा चीन भ्रमण गरेका ओली चीन प्रस्थान गर्दा होस् या फर्कदा नेपाल विमानस्थलमा ओलीसँग कुममा कुम जोडेर बसेको दृश्य देखियो । यसले यी दुई नेताबीचको आत्मियता कति गहिरिएको छ भन्ने अनुमान लगाउन सकिन्छ ।

दृश्य २ः त्यसो त यी दुई नेताले मिलनको संकेत फागुन ३ गते नै दिएका थिए– एमाले संसदीय दलको बैठकमा । धुम्बाराहिमा संसदीय दलको बैठक ाह्वान गरिएको थियो । ओली र नेपाल एउटै गाडीमा चढेर बैकस्थल आइपुगे । त्यतिमात्र कहाँ हो र नेपालले ओलीको प्रशंसा गर्दै संसदीय दलको नेताको रुपमा प्रस्ताव राखे । बैठकमा र त्यसपछि पनि यी दुई नेताले जबजको महत्वमाथि प्रकास पारे । जबकि नेपाल गुटका नेताहरुले जबजको अस्तित्व सकिएको बताइरहेका बेला दुवै नेताले त्यसको बचाऊ गर्नुलाई सामान्यरुपमा हेरिएन ।

दृश्य ३ः त्यस्तै, सरकार गठनका बेला ओलीले नेपालकै सहमतिमा पहिलो चरणमा ईश्वर पोख्रेललाई नभएर लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाउनु दुई नेताबीचको मिलनको अर्को संकेत थियो । पहिलो चरणमा नेपाल गुटका पण्डित मन्त्री बन्लान् भन्ने थोरैले मात्र आँकलन गरेका थिए । त्यस्तै, राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहर्याउने सन्दर्भमा पनि ओली र नेपालबीच कुरा मिल्यो । यदि नेपालले झलनाथ खनालको समर्थन गरेको भए प्रचण्ड पनि यसमा उदार थिए ।

दृश्य ४ः फागुन २२ गते नेपालको ६५ औं जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमै केक काटे । स्थायी समिति बैठकको सुरुमै उनले नेपाललाई फूलको कुबी दिएर जन्मदिनको शुभकामना दिए । ओलीले नेपालको सुस्वास्थ्य एवं दिर्घायुको पनि कामना गरे । ओलीले नै नेपाललाई आफ्नै हातले ‘बर्थ–डे केक’ खुवाए । नेपालले पनि जन्मदिन मनाउने व्यवस्था मिलाएकोमा धन्यवाद दिँदै ओलीलाई ‘बर्थ–डे केक’ खुवाए । यसरी ओलीले नेपाललाई खुसी बनाए र दुई नेताले आफूहरुको सम्बन्ध सुध्रिएको संकेत दिए ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन, मुख्यमन्त्री चयनजस्ता विषयमा संस्थापन पक्षले गुटबन्दी गरेको भन्दै ओलीको खुलेरै विरोधमा उत्रिएका नेपाल कसरी नजिक भए भन्ने प्रश्न छ । नवौं महाधिवेशनमा अध्यक्षमा ओलीसँग चुनाव हारेदेखि एकअर्काको कटु आलोचना, गुटबन्दी गर्दै आएका नेतालाई एक बनाउने काम पार्टी एकताले नै गरेको हो । तर, पार्टी एकतामार्फत एमाले अथवा जबजको अस्तित्व, सिद्धान्त, मान्यता समाप्त हुनेभयो अब हामी मिल्नुपर्छ भन्ने मनसायले भने पक्कै होइन । यसको किस्सा पनि गज्जबको छ ।

 

कसरी मिले दुई नेता ?
त्यसो त ओली र नेपाल २०५४ सालदेखि उतारचढावपूर्ण सम्बन्धबाट जेलिँदै आएका हुन् । सरकार गठन, मन्त्री नियुक्ति, पार्टी संचालन, भातृ निकायको नेतृत्व, निर्वाचनमा उम्मेदवार चयनलगायतका विषयमा सधै एकअर्काका विपरित भएका यी दुई नेताको सम्बन्ध प्रचण्ड त्रासले बाक्लिएको हो ।एमाले स्रोतले काठमाण्डु टुडेलाई दिएको जानकारी अनुसार पार्टी एकताको अन्तिम टुंगो लागिरहेका बेला प्रचण्ड–नेपाल सम्बन्ध झिंगिदै गएको थियो । मुख्यमन्त्री चयनमा नेपाल समूहलाई चलाखिपूर्ण ढंगले हराएपछि नेपाल ओलीसँग चिढिएका थिए । त्यसकै फाइदा उठाउँदै प्चण्डले उनलाई आफ्नो बसमा पारे । र, प्रचण्ड–नेपालबीच गोप्य भेटवार्ता हुन थाल्यो । धेरैको अनुमान थियो पार्टी एकतापछि यी दुई नेता एक हुनेछन् र ओली कमजोर । यो कुरा बुझेका ओलीले त्यसपछि पार्टी एकतालाई विभिन्न बहानामा अल्झाइरहे । समयमै पार्टी एकता नहुनुको कारण पनि यही हो । र, नेपाललाई फकाउनतिर लागे । स्रोतकाअनुसार ओलीले नेपाललाई आउँदो महाधिवेशनमा अध्यक्षका लागि समर्थन गर्ने बाचाका साथ आफ्नो पकडमा पार्न सफल भए । र, त्यसपछि यी दुईको सम्बन्ध सुध्रियो ।


नेपाल एकाएक ओलीसँग मिलेपछि नेपाल गुटका थुप्रै नेता उनीसँग असन्तुष्ट छन् । र, त्यो पक्ष प्रचण्डसँग नजिक छ । त्यस्तै पूर्वमाओवादीका केही नेता ओलीसँग नजिकै हुँदै छन् । तर, माधव नेपाल भने भित्रभित्र कमजोर हुँदैछन् । उनी ओली गुटमा गएसँगै अब उनीसँग उप–गुट मात्र बाँकी छ । यस्तोमा अर्कोतर्फ प्रचण्डको बलियो गुट बन्दै छ । अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेता ओली–नेपालदेखि रुष्ट छन् ।
तर, भनिन्छ नि ‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन ।’ त्यसैगरी भोलि कसैले देखेको छैन । ओलीले कुनै गडबडी गरेको खण्डमा नेपाल प्रचण्ड गुटमा नआउलान् भन्न सकिन्न । अथवा, प्रचण्डले नै ‘ललिपप’ नदेखाउलान् भन्ने पनि छैन । भविष्यलाई थाति राख्ने हो भने अहिले साच्ची ओली–नेपाल सम्बन्ध लोभलाग्दो बनेको छ । नेपाल अहिले ओलीका बलिया हतियार भएका छन् । दुई नेताको सम्बन्ध सुमधुर बनेको छ । लाग्दैछ उनीहरु ‘गहिरो प्रेम’मा छन् । अब नछुट्टीने गरी ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter