काठमाण्डौ, १८ असार – उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी जापानी राजदूत मासामिची साईगोबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले उर्जामन्त्रालयले स्वेतपत्रमार्फत १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने रणनैतिक कार्यक्रम सार्वजनिक गरेको भन्दै त्यसका लागी जापानी सहयोगको अपेक्षा राखेको बताए ।

उनले भने, ‘हामीले उर्जा र जलविद्युतको क्षेत्रमा निकै महत्वकांक्षी लक्ष्य राखेर अघि बढेका छौं, यसमा जापानबाट हामीले ऋण,सहयोग र लगानीको अपेक्षा गरेका छौं ।’

उनले जापानको निजी क्षेत्रलाई पनि नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी वातावरण बनाईदिन समेत राजदूत साईगोसंग आग्रह गरे ।

नेकपाका स्थायी समिती सदस्य समेत रहेका मन्त्री पुनले जापान नेपालको पुरानो र भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा समेत नेपालको विकासमा जापानको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए ।

भेटमा जापानी राजदूत साईगोले नेपाल र जापानको सम्बन्ध विगतदेखी सुमधुर रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझ मजबुत बन्ने धारणा राखे ।

उनले नेपालमा जापानले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दैै आगामी दिनमा उर्जा र जलस्रोतको क्षेत्रमा काम गर्न जापान ईच्छुक रहेको बताए ।

जापानी राजदूत साईगोलले जापानले कुलेखानी–१, कुलेखानी–२ र कालिगण्डकी ए मा समेत सहयोग गरेको जानकारी दिंदै आगामी दिनमा समेत उर्जा क्षेत्रमा सहकार्य गर्न जापान तयार रहेको धारणा राखे ।

मन्त्री पुनले जाजरकोटस्थित नलगाड जलविद्युत परियोजना तयारी अवस्थामा रहेको भन्दै उक्त परियोजना निर्माणमा सघाउन समेत जापानी राजदूतलाई आग्रह गरेका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter