पर्वत – फलेवास नगरपालिका–३ शंकरपोखरीमा मदिरा बिक्री वा सेवन गरेको पाइए पहिलो चरणमा रु ५०० जरिवाना गरिने भएको छ । वडाअन्तर्गत धनार टोल सुधार समितिबाट यो अभियानको थालनी गरिएको हो । अवैध रुपमा मदिरा उत्पादन तथा बिक्री वितरण र सेवनबाट समाजमा नकारात्मक प्रभाव पर्दैै जान थालेपछि यस्तो अभियान थालिएको हो । एक महिनाअघि मदिरा सेवनकै कारण स्थानीय युवा सूर्यबहादुर सुनारको ज्यान गएको र एक महिला गम्भीर घाइते भएपछि वडाध्यक्ष अर्जुनबहादुर कार्कीको पहलमा मदिरा निषेधित वडा घोषणा गर्न लागिएको हो ।

घरेलु मदिरा उत्पादन र अन्य गुणस्तरीय मदिरासमेत वडामा सञ्चालित पसलहरुमा बिक्री वा सेवनमा रोक लगाउनाका लागि स्थानीय महिला समूह, युवा क्लब तथा विभिन्न संघसंस्थासमेत एकजुट हुन थालेका छन् । मदिरा उत्पादन तथा बिक्रीबाट समाजमा एक–दुई वटा परिवारको आर्थिक अवस्थामा सुधार आएपनि सिङ्गो समाजलाई नै नकारात्मक असर गरेकाले मदिरा नियन्त्रण गर्न थालिएको वडाध्यक्ष अर्जुनबहादुुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा बिहान ५ देखि बेलुका ५ बजेसम्म मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय भएको छ । उक्त समयमा कुनै व्यवसायीले मदिरा बिक्री गरेमा वा कुनै व्यक्तिले मदिरा सेवन गरेर सार्वजनिक स्थलमा होहल्ला गरेमा रु ५०० जरिवाना गरिने र उक्त निर्णयलाई अटेर गर्दै दोस्रो–तेस्रो यस्ता कार्य गरे थप कारबाहीका लागि पहल गरिने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

सिङ्गो वडाका सबै बस्तीमा एकै पटक मदिरा नियन्त्रणका लागि विभिन्न टोलमा रहेका महिला समूह, आमा समूह, भजन समूह, नागरिक समाज र युवा क्लबलाई निगरानीका लागि जिम्मेवारी तोकिएको छ । उक्त कार्यका लागि स्थानीय प्रहरीसँग पनि सहकार्य गरिएको स्थानीयवासी रामचन्द्र भुसालले जानकारी दिनुभयो । छिमेकी नगरपालिकाले घरेलु मदिरालाई दर्ता गरेर व्यवस्थित रुपमा सञ्चालन गर्न व्यवसायीहरुलाई आह्वान गरिरहेका बेला फलेवास–३ शंकरपोखरीमा भने नियन्त्रण अभियान थालिएको हो । यसले स्वच्छ र सभ्य समाज निर्माणमा ठूलो भूमिका निर्वाह गर्ने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो ।
recentnepal.com मा खबर छ

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter