चितवन– भरतपुर महानगरपालिकाको बजार क्षेत्रका ६ वटा घरमा चोरी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ की सरिता विकलाई चितवन प्रहरीले बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

उनले एक सय तोला भन्दा बढी सुनको गरगहना चोरी गरेको प्रहरीले जनाएको छ। चितवनबाट चोरी गरेको गहना काठमाडौँको सानुरत्न शाक्यको सुनचाँदी पसल र चितवनकै लेखबहादुर विकले सञ्चालन गरेको रश्मी ज्वेलरीमा लगेर बिक्री गरेको भेटिएको प्रहरीले जनाएको छ। सुनचाँदी पसलका सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ।

सरिताले सुनचाँदीको विभिन्न गहना गरि ७० लाख रुपैयाँ बराबरको सामान चोरी गरेको अनुसन्धानमा खुलेको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए । चितवनमा अन्य ठूला चोरीहरुका गिरोह समेत पक्राउ गरिरहेको उल्लेख गर्दै राठौरले जिल्लामा सहकारी संघसंस्थाहरुको चोरीको घटना बढेकोले त्यसको समेत अनुसन्धान भइरहेको बताए ।

त्यस्तै, नारायणगढ बजारमा रहेको हाम्रो ईलेक्ट्रोनिक्स पसलबाट करिब ३० लाख ८० हजार रुपैयाँ बराबरको घडी तथा मोबाइल चोरी गरि भागेका भारतका मुन्ना साह र विश्वास एण्ड कम्पनीबाट बैंकमा जम्मा गर्न लागेको २३ लाख रुपैयाँ लिएर फरार भएका नवलपरासीको गैंडाकोटका अर्जुन ढकाललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई कानुनी कारबाही अगाडि बढाएको प्रहरी कार्यालय चितवनले जनाएको छ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter