कास्की, कात्तिक ९ — बिरामी र उनीहरूका कुरुवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उडुसले हैरान परेका छन्  । सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा बसेकी तनहुँकी जेनिशा रानामगर भन्छिन्, ‘उडुसले टोकेर हैरान पार्छ  ।

बिरामी कुर्न बसेका बिरामी पर्ने भए ।’ हैरान भएका कुरुवाले अस्पतालका नर्सहरूलाई समस्या सुनाएका थिए । ‘सिस्टरहरू हामी आफैं पीडित छौं पो भन्छन्,’ उनले भनिन्, ‘मारेर पनि साध्य छैन ।’ अस्पताल प्रशासन उडुसको समस्याबारे जानकार नभएको पनि होइन । तर, उपयुक्त कदम नचालेको गुनासो बिरामीका कुरुवाको छ ।

‘बिरामी भएर आएको दुखाइ छँदै छ, त्यसमाथि उडुसले टोक्दाको अवस्थामा किन भर्ना भइयो जस्तो लाग्यो,’ पोखराको पुम्दीभुम्दीका सन्दीप बराल भन्छन्, ‘अस्पताल व्यवस्थापनलाई बेवास्ता गरेकै कारण यस्तो भएको हो ।’

चार दिनदेखि अस्पतालमा रहेका उनले उडुसको समस्यामात्रै होइन सरसफाइमा पनि ध्यान नपुगेको पाइएको बताए । ‘बिरामी निको हुन आउने ठाउँमा झन् बिरामी पर्ने स्थिति छ,’ उनले भने, ‘सरसफाइमा ध्यान दिए उडुसको समस्या हट्थ्यो । शौचालय पनि सफा राखिदिनुपर्छ ।’

बच्चा जन्माएका आमाभन्दा पनि शिशुलाई टोक्छ कि भन्ने डर लागेको प्रसूति वार्डमा आफन्तको कुरुवा बसेकी अस्मिता नेपालले बताइन् । ‘उडुस दिनभरि हराउँछ रात परेपछि देखिन्छ,’ उनले भनिन्, ‘यसलाई बेलुका अरुलाई असर नपर्ने गरी औषधी छर्किदिए हराउँदै जाने हो ।’ उडुसले आफूहरू पनि हैरान रहेको नर्स सोभना गुप्ता सिंहले बताइन् । ‘नर्स स्टेसनको फर्निचरमा पनि उडुस परेको छ,’ उनले भनिन्, ‘बिरामीको गुनासो प्रशासनसम्म पुगेको छ । बेलाबेला औषधि छर्ने गरेको पनि हो तर, हराएको छैन ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter