काठमाडौं । डा. गोविन्द केसीले विवादित पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको पेन्सनसम्बन्धी निर्णय सार्वजनिक गर्न माग गरेका छन् । आइतबार ललितपुरस्थित निजामती किताबखाना पुगेर एक पत्र बुझाउँदै डा. केसीले पूर्व प्रधानन्यायाधीश पराजुलीले पेन्सन पट्टा लिएको सम्बन्धी विवरण सार्वजनिक गर्न माग गरेका हुन्।
आफ्ना सहयोगी र अधिवक्तासँग कितावखाना पुगेका केसीले वि.सं. २०७४ फागुन ३० गते कायम गरी पराजुलीले अवकाश लिएको सम्बन्धमा भएको निर्णय तथा पत्राचार र त्यसको आधार, प्रमाणसहितको प्रतिलिपि तथा पराजुलीको पेन्सन पट्टाको प्रतिलिपि सार्वजनिक गर्नुपर्ने माग अघि सारेका हुन् ।
केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, प्रितम सुवेदी र सुरेशकुमार मुडभरीले संयुक्त रुपमा सूचनाको हकका आधारमा पराजुलीको अवकाशसम्बन्धी निर्णयको प्रतिलिपि माग गरेका छन्।