काठमाडौँ , १० कात्तिक । श्रीलंकामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति चुनावमा मैत्रीपाल सिरिसेनासँग पराजित भएका राजपक्षेलाई मैत्रीपालाले नै प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रानिल विक्रमसिंघेलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्दै राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । सिरिसेनाको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै उनले प्रधानमन्त्री परिवर्तन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बर्खास्तीमा परेका विक्रमसिंघेले भने आफू नै श्रीलंकाको प्रधानमन्त्री रहेको दावी गरेका छन् । संसद्मा अझै आफ्नो बहुमत भएकाले आफू नै प्रधानमन्त्री भएको उनको दावी छ । विक्रमासिंघेको दलले राष्ट्रपतिले कू गरेको आरोप समेत लगाएको छ ।महिन्दा राजापाक्षेले भने आफ्नो ट्विटर ह्याण्डलमा आफ्नो परिचय परिवर्तन गर्दै श्रीलंकाको प्रधानमन्त्री बनाएका छन् ।

पछिल्ला दिनमा विक्रमसिंघे र राष्ट्रपति सिरिसेनाबीच सरकारको कामकारबाहीलाई लिएर मतभेद थियो ।महिन्दा राजापाक्षेलाई वर्तमान राष्ट्रपति सिरिसेनाले पछिल्लो राष्ट्रपति चुनावमा हराएका थिए । आफ्नै विरोधीका रुपमा चिनिने राजापाक्षेलाई नै प्रधानमन्त्री बनाएर राष्ट्रपति सिरिसेनालाई सबैलाई आश्चर्यचकित बनाएका छन् । वर्तमान सरकार विक्रमासिंघेको यूएनपी पार्टीसँग मिलेर चलेको थियो । तर विक्रमासिंघेले गठबन्धन छाड्ने संकेत आएलगत्तै राष्ट्रपति सिरिसेनाले राजापाक्षेलाई प्रधानमन्त्री बनाएका छन् ।

गठबन्धन सरकारमा मन्त्री रहेका यूएनपीका मंगला समरवीराले ट्वीट गर्दै श्रीलंकामा संवैधानिक संकट उत्पन्न भएको बताएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीका रुपमा राजापाक्षेको नियुक्ति असंवैधानिक तथा गैरकानुनी हो । यो लोकतन्त्रविरोधी कू हो ।’

नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षेले पद तथा गोपनीयताको सपथसमेत लिइसकेका छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter