१३ मंसिर, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले आफ्नो नाममा स्पष्टिकरण दिन भन्दै पठाएको पत्रको बारेमा ‘किन काटेको थाहा नभएको’ टिप्पणी गरेका छन् ।

बुधबार झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘निर्वाचन आयोगले मेरो नाममा चिट काटेको छ रे ! किन काटेको थाहा छैन ।’

 

ओलीले पत्रपत्रिकामा आएको विज्ञापन बारे आफूलाई जानकारी नभएको बताए ।

 

‘वाम गठबन्धनले देशैभर जित्दैछ भनेर कसैले बधाई दिएको होला’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘यद्यपि, त्यस विषयमा पार्टीले आयोगलाई जवाफ दिइसकेको छ ।’

 

आफू आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै ओलीले भने, ‘म कांग्रेसको अध्यक्ष हुँ र ? आचारसंहिता उल्लङ्घन गर्न ? म त एमाले अध्यक्ष पो हुँ !’

 

झापाको चन्द्रगढी विमानस्थलमा एमाले अध्यक्ष ओली लगायत । तस्वीर सौजन्यः प्रदीप परियार

अर्को प्रसङ्गमा उनले कांग्रेससँग बोल्ने कुरा केही नभएर आफ्नो क्षेत्रमा आएर वाम गठबन्धनले जिते अधिनायकवाद लादिने बताएको उल्लेख गरे ।

 

देउवाको उक्त अभिव्यक्तिप्रति आलोचना गर्दै ओलीले भने, ‘लोकतन्त्र चाहिँ मासिँदैन । तर, कांग्रेसको शासन चाँहि जरुर मानिन्छ ।’

 

उनले कांग्रेससँग लोकतन्त्रको सीमित परिभाषा भएको बताए । ‘कांग्रेसले आफूलाई नै लोकतन्त्र सम्झिएको छ । उसँग सीमित परिभाषा छ’, ओलीले भने, ‘उसको परिभाषामा कांग्रेस सरकारमा हुँदा मात्र लोकतन्त्र हुन्छ, नत्र हुँदैन ।’

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter