काठमाण्डौं, माघ १८ ।
दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकमाथि ठगी गरेको अभियोगमा पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले आदेश नदिँदा अभियुक्तहरू खुलेआमरूपमा बजारमा हिँडिरहेका छन् ।

सो क्लबमा लगानी गरेका विश्वराम श्रेष्ठको २ करोड रुपियाँ नतिरेपछि उनी न्यायका लागि प्रहरीकोमा गएको भए पनि प्रहरीले भने झुलाउने र अभियुक्तसँगै साँठगाँठ गरी मुद्दा दर्ता नगरेको पाइएको छ । प्रहरीले ३ जनाविरुद्ध गत असोज १७ गते पक्राउपुर्जी जारी गरेको भए पनि एसएसपी लामाले भोलि भोलि भन्दै पीडित श्रेष्ठलाई पीडामाथि पीडा दिने कामलाई निरन्तरता दिएका छन् । क्लब डेजाभूका हालका सञ्चालक प्रतीक श्रेष्ठ, प्रवेश श्रेष्ठ, समीप सिलाकार, मनिस राजभण्डारी, रमन सिलाकार, मएङ खड्कालगायतको टोलीसँग मिलेर एसएसपी लामाले उक्त केसलाई डिसमिस गर्न खोजको आरोप लागेको छ ।

सो क्लबले चर्चित डिजे मार्स मेलोलाई नेपाल ल्याउने भन्दै पैसा उठाएर नल्याएपछि सो क्लबमा तोडफोड कारण क्लब बन्द भएको थियो । प्रहरीले उक्त घटनामा संलग्न रहेका विरुद्ध मुद्दा चलाएको थियो । सो क्लबका सञ्चालकले करोडौं पैसा उठाए पनि उक्त पैसा अहिलेसम्म फिर्ता नगरी अदालतमा सेटिङ गरेर मुद्दा मुल्तवीमा राख्न सफल भएका छन् ।

क्लब बन्द भएपछि सो क्लबका सञ्चालकहरूले पीडित श्रेष्ठलाई क्लबमा केही समयका लागि क्लब मर्मतसम्भारका लागि २ करोड माग गरेको र श्रेष्ठले २ करोड क्लबको नाममा दिएका थिए । क्लब सञ्चालक मनोज श्रेष्ठसहितको टोलीले २ करोडको चेक दिएको भए पनि अहिलेसम्म उक्त चेक साटिएको छैन। चेक नसाटिएपछि श्रेष्ठले चेक बाउन्स र सामूहिक ठगी मुद्दामा कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा निवेदन दिएको भए पनि एसएसपी लामाको कारण उक्त मुद्दा अगाडि बढ्न सकेको छैन । पीडित श्रेष्ठले लामो समयदेखि कारबाहीका लागि एसएसपी लामासँग हारगुहार माग्दा पनि हुन्छ हुन्छ भन्ने तर काम नगरिदिएपछि पीडित श्रेष्ठ अहिले बिचल्लीमा परेका छन् ।

प्रहरी परिसर काठमाडौंले नै पक्राउपुर्जी जारी गरेकामध्ये समीप सिलाकार, रमन सिलाकार, प्रतीक श्रेष्ठलगायतका टोलीसँग एसएसपी लामाले कार्यालयमै पटक पटक भेट गरेका छन् । सामूहिकरूपमा ठगी गरेको उक्त काण्ड संगठित अपराधअन्तर्गत मुद्दा चलाउनुपर्नेमा एसएसपी लामाले भने मुद्दा नचलाउन आफ्नो मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । यस विषयमा एसएसपी लामासँग बुझ्न पटक पटक सम्पर्क गर्दा पनि उनी सम्र्पकमा आउन चाहेनन् ।–नेपाल समाचारपत्रले खवर छापेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter