काठमाडौँ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । राजदूत शेर्पाले आफूमाथि लागेको गम्भीर आरोपहरु झुटो भएको र नैतिकताका आधारमा राजीनामा दिएको बताएकी छन् । मानव तस्करीको गम्भीर आरोप लागेपछि सरकारले राजदूत शेर्पालाई राजीनामा दिन सुझाएको थियो । त्यसपछि अष्ट्रेलिया पुगेर सबै सामान लिएर आएकी उनले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन् ।

यस्ताे छ उनकाे राजीनामाकाे पूर्ण पाठः

आदरणीय पत्रकार साथीहरु,
जिम्मेवारीको हिसाबले अष्ट्रेलियाको लागि नेपाली राजदूतको जिम्मेवारीमा रहेको हुँदा मेरो बिरुद्ध आएको भ्रम, लान्छना र निराधार आरोपहरु तत्काल चिर्नको लागि कुटनीतिक मर्यादाको कारण आफुमाथि एकोहोरो भ्रम, लान्छना र फरेबको पहाडै खसेपनि मुकदर्शक झै बस्नु परेको यहाँहरुलाई बिदितै छ । म यहाँहरु समक्ष प्रेस विज्ञप्तिमार्फत सत्य प्रष्ट पार्ने अनुमति चाहन्छु ।

गलत नियत राखी, एकतर्फी ढंगले आएको अतिरञ्जनाको जवाफ दिन आवश्यक नभए पनि यस्ता विषयले सर्बसाधारणमा भ्रम सिर्जना भएकोले यसको निवारण गर्न आवश्यक ठानेर नै यो प्रेस विज्ञप्ति प्रेषित गरेको छु ।

घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको पछाडि लागेर आफ्नो देशको डिप्लोम्याट जो रातदिन देश र जनताको हितार्थ समर्पित छ त्यस्ता ब्यक्तिहरुलाई मानमर्दन गर्ने परम्पराको थालनी हुनु दुःखद छ । यस्तो गलत परम्पराले हाम्रो समाज कता जाला, मुलुकलाई कहाँ पुर्याउला ? यो विचारणीय कुरो छ ।

शरणार्थी माध्यमबाट पीआर पाउने र केही व्यक्तिले देशकै ब्यवस्थाको मानमर्दन गर्दै पीआर दिलाउन एसाईलमको खेती गर्ने कुचेष्टाले मेरो निजी सहयोगी वाङ्छु शेर्पालाई प्रयोग गरी कथिएको भ्रमजाल स्वरुप हामीमाथि आधारहिन, नियोजित तरिकाले निराधार आरोप लगाईएको छ ।

जतिसक्दो गलत आरोपहरु राजदूत बिरुद्ध संग्रह गर्ने कुचेष्टाले फरक प्रसंगमा प्रत्यक्ष बोलिएका कुराहरुलाई टेलिफोन वार्ता भनेर नियोजित र गैरकानुनी तरिकाले तोडमोड गरेर फरार रहेका ब्यक्तिले जनमानसमा भ्रम सिर्जना गरेको स्पष्ट छ ।

हामीमाथि संगिन र आधारहिन आरोप लगाउनुभन्दा अगाडि एकचोटी घोत्लिएर सोच्नु जरुरी छ, मेरो जीवनको करियरको सुरुवातनै मानवतस्करी बिरुद्धको अभियानबाट शुरु भएको हो । गाउँको दुरदराज, झुपडीदेखि अन्तराष्ट्रिय मञ्च हुँदै नीतिनिर्माण तहसम्म भूमिका रहेको छ । कैयौं पीडितहरुलाई नयाँ जीवन जिउने आधार दिएको छु ।

दुखेको घाउमा मल्हमपट्टी लगाउने काम गरेकी छु । मेरो शैक्षिक स्थिति, पारिवारिक पृष्ठभूमि, राजनीतिक सामाजिक आर्थिक हैसियत, साथै पदीय जिम्मेवारीको हिसाबले सभासद हुँदै यहाँसम्म आईपुग्दा सबै तह र तप्काका मानिसहरु मेरोबारे विवेकशील समाजका कोही पनि अनभिज्ञ छैनन् । मेरो जीवन खुला किताब जस्तै छ । मेरो सर्बस्व भनेकै ईमान्दारिता हो । मिथ्या आरोपको बारेमा सम्बन्धित दूतावासहरुसँग सत्यतथ्य जानकारी लिन सकिने सुचनाको हक यहाँहरु सबैमा छ ।

निजी सहयोगी ल्याउने हकमा मन्त्रालयको आफ्नै किसिमको बिधि प्रक्रिया र स्रोत साधन छ । यसर्थ सम्बन्धित व्यक्तिको कार्यगत र भाषिक परिक्षण लिइएता पनि निजको नियत र ईमान्दारिताको परीक्षण लिन चुक्यौ र समस्याको जड त्यहि नै रह्यो । विदेशमै बस्ने लालसाले अन्ततः जसरी पनि पिआर पाउन यसैको सौदाबाजी गर्ने ब्यक्तिको चंगुलमा पुगेँ ।

केही सञ्चारमाध्यममा काल्पनिक कथा बनाएर विचार सहि सम्प्रेषण नगरि वास्तविक पीडितहरुको कुरै नसुनी एकपक्षीय रुपमा ठगीमा संलग्न ब्यक्तिको भनाई मात्र सम्प्रेषण गरी जनमानसमा दिग्भ्रमित पार्ने काम गरेका छन् । यो आर्थिकसँग जोडिएका मामिला भएकोले निजले सामाजिक सञ्जालमा दावी गरिएको हाम्रो बैंक खाता लगायत सम्पूर्ण आर्थिक कारोबार अनुसन्धानको लागि खुला राखिएको छ ।

पत्रकार साथीहरु,

मिती २०७४ मंसिर ५ गते देखि नै नेपाल सरकार परराष्ट्र मन्त्रालय लगायत अष्ट्रलियाको सम्बन्धित निकायमा निजको चोरी ठगी सम्बन्धी गैरकानुनी कृयाकलापको बारेमा पत्रमार्फत कारबाहीको लागि पीडितहरुले पठाएको प्रमाणसहित उजुरी पठाउनको साथै २०७४ साल मंसिर ११ गते र २०७५ साल मंसिर १६ गते ताकेता गरि परराष्ट्र मन्त्रालयमा पत्र पठाएको हो ।

कुटनीतिक माध्यमबाट बर्षौदेखि पठाएको पत्र परिपत्रलाई कुनै सुनुवाई नहुने तर जस्केलाबाट कसैले चिच्याएको भरमा आफ्नै कुटनीतिक नियोग प्रमुखको बिषयमा छानबिन समिति बनाउने यो देशको कस्तो बिडम्बना ? कस्तो दुर्भाग्य ? कुटनीतिक प्रतिष्ठा र मर्यादा माथि प्रहार हुने गरी कसैले नियोजित घटना घटायो भने अन्य मूलुकहरुले सत्यको गहिराई पत्ता लगाएर आफ्नो प्रतिनिधिको आवाज सुन्ने गम्भिरता प्रस्तुत गरेका उदाहरणहरु छन् ।

निजले मेरो बिरुद्ध आरोप लगाएपछि अनुसन्धानमा सहयोग गर्न मैले आफ्नो कुटनीतिक उन्मुक्ति खुला अष्ट्रेलियन सरकार समक्ष पेश गरेको अवगतै छ । अष्टे«लियन सरकारले म माथि लागेको सम्पूर्ण आरोप झुठा साबित गर्दै ससम्मान कुटनीतिक रुपमा काम गर्ने हौसला प्रदान गरिएको गरिसकेको जानकारी गराउन चाहन्छु ।

पत्रकार साथीहरु,

अष्ट्रेलियास्थित नेपाली दूतावास सम्हाल्न आई पुगेदेखिनै नेपाल सरकारले दिएको जिम्मेवारी यहाको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका लगायत अष्टे«लियन समाजमा गर्विलो छाप बनाउन सफल भएका थियौ । अष्ट्रलियामा ठुलो संख्यामा नेपाली विद्यार्थीको उपस्थिति रहेको छ नेपाली समुदाय लगायत सेवाग्राहीका लागि बाह«ै महिना २४ सै घण्टा नेपाली समुदायमा खटिएर काम गरेकी छु, यहाँको स्थानीय बिदामा पनि अहोरात्र खटिएर काम गरेको यहाँ सेवाग्राहिहरुकै भनाइबाट बुझ्न साकिन्छ ।

डिप्रेसन र अनेकौ रोगका शिकार भएकाहरुलाई आफ्नै र कन्सुलर जेनेरलहरुसँग मिलेर नेपाल उनीहरुको स्वेच्छाले फर्काउने काम गरेकी छु, अन्य नेपाली संघसंस्थाले पनि यसमा पहल लिएको छ । अनाहकमा झुटा मुद्धा लगाई फसाईएका नेपालीहरुलाई कठोरतम जेल सजाय हुनबाट बचाएको छु ।

हाल नेपाली समाजमा समस्याकै रुपमा देखा परेको कयौंको घरबार टुट्नबाट जोगाउने काम गरेकी छु । कतिपय नेपालीहरुले दूतावासको क्षेत्रधिकारभित्र यस्ता जिम्मेवारी पनि पर्छन् भन्दै अचम्मित भएको पाईयो । अझ भनौ नेपालीहरुले अभिभावक नेपाली दूतावास हो भन्ने मान्यता स्थापित गर्ने प्रयास गरेकी छु । दूतावासले पनि पीडित र सेवाग्राहिको पक्षमा यस्तो भूमिका खेल्न सक्छ भन्ने मान्यता स्थापित गर्नको साथै आँट भरोशा नेपाली समुदायलाई दिएकी छु । यी सबै सम्झदा आफुलाई गर्बको अनुभूति हुन्छ ।

पत्रकार साथीहरु,

यहाँहरुलाई दुखको साथ भन्नैपर्ने हुन्छ, आफुले ल्याएको निजी सहयोगीको कर्तुतहरु र पीडितहरुले गरेका उजुरीका चाङहरु मसँग छन् । नक्कली ड्राइभिङ लाईसेन्स धन्धामा देशको शिर्षस्थ नेताको समेत नाम दुरुपयोग गरी कयौंलाई ठगी गरेको, भूकम्पपीडितलाई ट्याक्सी निकालिदिन्छु भनी दर्जनौलाई ठगी गरेको साथै बिदेश लैजान्छु भनी नक्कली कागजात मात्र होईन नक्कली भिषा नै बनाएर कैयौंलाई ठगी गरेको साथै सन २०१७ सेप्टेम्बरमा अष्ट्रेलियाको टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा अन्य देशको निजी सहयोगी भागी प्रोटेक्सन भिषा पाएको घटनाबाट प्रेरित भई हामी न्युजिल्याण्ड गएको मौका छोपी कोही नभएको बेला दूताबासबाट चोरी गरी फरार भएपछि पीडितहरुको सप्रमाण सम्बन्धित निकायमा गरेको उजुरीबाट ठगी धन्धामा लागेको थाहा भयो ।

पीआर पाउने गलत मनासायले धेरैलाई ठगी गर्दै गलत बाटो रोजेकोले, ब्रिजिङ भिषामा रहेका ब्यक्तिले प्रोटेक्सन भिषा रहेको भनी सबैलाई गुमराहमा राखेको र निजले केही एसाईलमका धन्धा चलाएर बसेका ब्यक्तिहरुको उक्साहटमा लागेर आफु र नेत्रित्व तहलाई बदनाम गर्ने नियत देखिएको महसुस भई सम्मानित अदालतले म्याद जारी गर्दा पनि हाल फरार रहेका वाङ्छुलाई नेपाल सरकारले अबिलम्ब नेपाल झिकाई कानुन अनुसार कारबाही गरी पीडितहरुलाई न्याय दिन अनुरोध गर्दछु ।

मैले कुनै पदको लागि भन्दा पनि देश र जनताको लागि अहोरात्र खटिएर सेवा गर्दै यो पदमा रहेको हुनाले देश र जनताको हितमा अनवरत र अविचलित रुपमा एकाग्रताको साथ लागिरहने बाचा गर्दै पदभन्दा आफ्नो मानप्रतिष्ठा र ईज्जतलाई सर्बोपरी ठानी मैले आफ्नो नैतिकताको आधारमा राजीनामा नेपाल सरकार समक्ष पेश गरेको छु ।

एकदिन मर्नुपर्ने जीवनमा ईमान्दारिता, कर्तव्यपरायण र मानव सेवाबाट आजसम्म चुकिन र कहिल्यै चुक्ने पनि छैन । देश र जनता प्रतिको जिम्मेवारीमा अनवरत सेवा गरिरहँदा म माथि भएको चरित्रहत्याको न्याय कहिले र कस्ले दिने ? न्यायिक फैसला होस्, सत्य नमरोस्स् त्यसैका लागि मैले बाटो खुला गरेको हुँ ।

अन्त्यमा, अष्ट्रेलिया र न्युजिल्याण्डका नेपाली दाजुभाइ दिदिबहिनीहरु यहाँहरुले दिनुभएको माया, आत्मियता, सद्भभाव र सहयोगी भावना मेरो लागि अविष्मरणीय हुनेछ । नेपाल सरकार, नेपालीहरुको साझा संगठन एनआरएनए ओसियाना, एनआरएन ए, एनसिसी अष्ट्रेलिया, न्युजिल्याण्ड साथै अन्य नेपाली संघसंस्था, बिभिन्न पेशा व्यबसायमा रहनुभएका साथीहरु, बुद्धिजिबी बर्ग, पत्रकार बन्धुहरु, सम्पूर्ण अबैतनिक बाणिज्यदूत साथीहरु, अष्ट्रेलियन सरकार र नेपाली दूतावास क्यान्भेराका साथीहरु साथै अष्ट्रेलिया, न्युजिल्याण्ड र विश्वभरी रहनुभएका सम्पूर्ण मेरा शुभेच्छुक, शुभचिन्तक मित्रहरुमा यहाँहरुले दिनुभएको अमुल्य सल्लाह, सुझाब र सहयोगको लागि हार्दिक आभार ब्यक्त गर्दै मुरिमुरी धन्यवाद दिन चाहन्छु । धन्यवाद ।

लक्की शेर्पा

अष्ट्रेलियाका लागि नेपाली राजदूत

मिति : २०७५–१०–१८

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter