आदरणीय कमरेड माधव नेपाल ,
बरीष्ठ नेता ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा )
तथा पूर्व प्रधानमन्त्री ।
बिषय-:ध्यानाकर्षण बारे।
प्रिय कमरेड ,
कसरी र किन कम्युनिस्ट आन्दोलनमा निरन्तर यत्तिका ३० औं बर्ष बेसी शुभचिन्तक हैन कार्यकर्ताको रुपमै लागियो भन्ने कुरा दुनियाँलाई थाहा छ,कास्की ,पोखराका रुख,बिरुवा,पातपतिङ्गर ,ढुङ्गा,माटो र नदीनालालाई समेत थाहा छ। तपाईंहरु पर्दा पछाडि हुँदा ,तपाईंहरुको प्रत्यक्ष आवाज र नीति हाम्रो कानमा नपर्दै हाम्रो पालनपोषणको लागि बाध्यतावश अरबको खाडीमा गएर ५५ डिग्री सेण्टीग्रेड तापक्रममा भाडा माज्न जाने बेलामा ,भेडा हेर्न जाने बेलामा बि.स.२०४३ को चुनावमा ” सानू भोट प्यासीको बाल्टी चिन्हमा हाल्नू है।” र एक महिना बेसी समय लाग्ने अरबको खाडीबाट “तिनी रानाभाट पूर्णबहादुर दाजु पन्चायतका अनुयायी पन्चे हुन् ,दूधबहादुर सुनार टक्सारी भिनाजु जनपक्षीय उमेदवार हुन् ,सानू तिनैलाई भोट हाल्नू है “भनेको कुरा कति वर्गीय छ र मेरो परिवारको मेरो पुजनीय बुवा कम्युनिस्ट पार्टीमा लागेकै कारण हामी नजन्मिदै जाली-फटाहाका तम्सूक च्यात्ने सन्दर्भमा पन्चायती शासकहरुले नुवाकोट पश्चिम (हालको स्याङ्जा ,२०३४ सालमा कास्की ) मा चर्चित खाम्पुर काण्डमा झुट्टा मुद्दा लगाएर २ महिना जेल रहनुभएको बेहोरा स्मरण गराउन चाहन्छु,त्यतिबेला क.माधव नेपाल तपाईं कम्युनिस्ट आन्दोलनमा लागेको कति बर्ष भएको थियो?
अनि २०४३ सालमा नेपाली कम्युनिस्ट आन्दोलनका शिखर ब्यक्तित्व सोमनाथ प्यासी,नोबल केबी राई,पद्मरत्न तुलाधर र जागृतप्रसाद भेट्वालले राष्ट्रिय पन्चायतमा जनपक्षीय भएर करीब ४० औं हजार मत ल्याएर पर्दा बाहिरबाटै राष्ट्रिय पन्चायतको सभाहलबाट पन्चायती ब्यवस्था बिरुद्द आमनेसामुनेको लडाइँ लड्दा,पन्चायतको हुङ्कार लिदा तपाईंको उपस्थितिको प्रभावकारिता पार्टी भित्र कस्तो थियो?अनि तपाईंले तपाईंको जीवनको कालखण्डमा के पाउनुभएन?निर्घात कुटेर प्यासी अब मोर्‍यो भनी बोरामा हालेर गण्डकीमा फालिएका प्यासी लगायतले के पाए? तपाईंलाई त तत्कालीन मालेले २०४७ साल कार्तिक २३ गते जारी भएको संविधान बनाउन पठाएकै थियो,अहिले केपी ओलीको नेतृत्वको विरुद्धमा वाइहात बुरुकबुरुक तीन हात उफ्रने पूर्व प्रधानमन्त्री झलनाथलाई त्यतिबेलै पार्टीले बनमन्त्री बनाएको थियो त?अनि तपाईलाई तपाईंले निश्चितरूपमा चुनाव जित्ने आधार नभएपछि क.मनमोहन र मदनले राष्ट्रिय सभामा लगेर तत्कालीन मालेको दलको नेता बनाएकै थिए त?अनि के पाउनुभएन र कम्युनिस्ट आन्दोलनको खिलापमा निरन्तर लाग्नुभएको छ?
२०५० जेठ ०३ गते क.मदन र क.जीवराज आश्रितको रहस्यमय जिप दुर्घटनामा देहावसान भएपछि त्यतिबेलै मत सङ्ख्याको आधारमा करीब काङ्ग्रेस जत्तिकै बलियो,सिटका हिसाबले तत्कालीन एमालेको ६९ सिट(काङ्ग्रेसको ११२सिट) हुँदा त्यत्तिको शक्तिशाली पार्टीको महासचिव हुनुभो। मैले तपाईंले गण्डकीमा तपाईंले सबैभन्दा बिश्वास गर्ने नेताको २०४८ सालमै जन्म,मिति ,समय,बार कण्ठ पारेर वहाँले बोकेको बिचार निरन्तर बोके ,पछ्याए,तत्कालीन एमाले भित्र बिचारधारात्मक संघर्ष हुँदा सामान्यतया पार्टी भित्र तपाईको शिशिरमा जहिल्यै साथ दिए तपाईंलाई मैले,निरन्तर -निरन्तर ।मान्नुस कि,तपाईंले लिएको बिचार बोक्न २०५४ फाल्गुन २१ गते हाम्रो पार्टी भित्र महाकाली सन्धिको बेला भएको भयङ्कर ठूलो दुर्घटनामा अनेरास्ववियु तत्कालीन कास्की जिल्ला कमिटीका १-२ जना साथी मात्र रहदा पनि क.माधव तपाईंलाई मैले छोडिन।
अनेरास्ववियुको चौधौं राष्ट्रिय सम्मेलनमा तपाईंतिर बालबाल बचे-खुचेको फूच्चेहरुमा त कास्कीको म अलि अगाडि नै थिए,पछि प्रवेश गरेकाहरु समेतमा पार्टी सदस्यमा पहिले,बिद्यार्थीमा हाराहारी थिए म।१४ औं राष्ट्रिय सम्मेलनको बन्द सत्रको बिहानीपख तपाईं र केपी ओली पक्षीय बिद्यार्थी नेताहरूको बीचमा राम्रै बिबाद भयो,मैले सन्तुलन मिलाउनु पर्थ्यो ,बिबादमा मुछिनु हुन्थेन त्यतिबेला किन कि,फुट र बिभाजनमा नलागेको ,पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनमा समेत तपाईंले बोकेको शक्ति सन्चयको पक्षमा मत हालेको कार्यकर्ता म,मैले क.बामदेवले नेतृत्व गर्नुभएको प्रगतिशील सुधारको पक्षमा भोट नहालेको म। अनि म अलि अतिबादी,उमेर पनि त्यस्तै, मैले क.केपी ओली पक्षीय बिद्यार्थी नेताहरूलाई गण्डकी अन्चलबाट नेतृत्वमा आउन रोके,तपाईं सित आफूलाई जोडेकै नाममा धेरैको रुवाबासी गराइयो,क्रमागत नेतृत्व बिकास रोकियो,आफूले पनि इच्छा गरिन तर तपाईंको बिचार बोकेकै कारण अनेरास्ववियु भित्र क. केपी पक्षीय बिद्यार्थी नेताहरुलाई दुव्र्यवहार गरे मैले ,यसमा म निकै दुखी छु किन कि,क. माधव तपाईंले बोकेको बिचारकै कारण आफूलाई कहिल्यै केन्द्रमा राखिन ,राखेको भए तपाईंले नेतृत्व गरेको पार्टीको अनेरास्ववियु कास्कीमा सतीसाल जस्तो थिए म,जे चाह्यो ,त्यही पाउथे मैले मागेको भए किन कि,गण्डकी अन्चलमा तपाईं पार्टीको प्रमुख भएर आफू जस्तै बिश्वास गर्ने गण्डकीका नेताको सबैभन्दा नजिकको बिद्यार्थी कार्यकर्ता म थिए।त्यही कारणले तपाईंको मष्तिष्कको शिरा,धमनी र केशिकासित जोडिएको अनेरास्ववियुको नेतृत्वको रक्तनलीहरुको पहिलो र मुख्य जडान मेरो मष्तिष्कसित थियो,गण्डकीको बिद्यार्थीमा ।खासमा गण्डकीको पार्टी नेतृत्व मैले बुझेसम्म सधैं तपाईंको खिलापमा रह्यो ,मैले कम्युनिस्ट पार्टीको सङ्गठित सदस्यता पाएको नेट २७ बर्ष पूरा भो,गैर पार्टी सदस्य कार्यकर्ता भएको त झन् पहिले। तपाईंको माधव नेपाल भन्ने खामो रङ्ग नफेरी सधैं अबिचलित समात्नेलाई प्रतिकुलतै प्रतिकुलता रहेको पीडा सहनेमा म एकाध नम्बरमा पर्छु सायदै। कास्की मात्र हैन,छिमेकी जिल्ला र क्याम्पसमा समेत सबै सूत्रहरुको प्रयोग गरी तपाईंले बोकेको बिचारलाई धूरी मान्नेहरुको नेतृत्व निर्माण गर्ने काम बेस्सरी गरियो।
अनेरास्ववियुको १५ औं राष्ट्रिय सम्मेलन २०५७ असोज १-७ मा बुटवलमा सु-सम्पन्न भएको थियो,धेरै क्रियाशील तपाईंले बिश्वास गरेको अखिलको मूल नेतृत्वसित निकै नजिक रहेको म पुरानो कार्यकर्ता समेत भएकोले अनेरास्ववियुको महत्त्वपूर्ण जिम्मेवारीमा आउने सम्भावना थियो,तपाईंलाई बलियो पार्नकै लागि अरु साथीहरू सितै म नेतृत्वमा आउन चाहिन,तपाईंले निकै बिश्वास गरी बनाएको अध्यक्ष मण्डलका अध्यक्ष लगायतका नेताहरूसित राम्रै बादबिबाद गरी तपाईंको बिचारसित असहमति राख्ने विद्यार्थी नेताहरूलाई नेतृत्वमा आउन नदिन ठूलै संघर्ष गरे मैले,सबै हिसाबले योग्यता पुगेका साथीहरूलाई नेतृत्वमा आउन नदिदा त्यही बर्षको आश्विन महिनाको अन्त्यतिर पोखरा फर्केपछि त्यतिबेला ठूलै नेतृत्वको सम्भावना बोक्नुभएको होनहार अनेरास्ववियुको नेता ,पृथ्वीनारायण बहुमुखी क्याम्पस,पोखराको स्वतन्त्र बिद्यार्थी युनियनको सचिवले अनेरास्ववियु परित्याग गरी अर्को क्रान्तिकारी अखिलमा प्रवेश गर्नुभो।त्यतिमात्र हैन,२०५७ सालको स्ववियु निर्वाचनमा तपाईंसितै जोडिएका कारण अस्वाभाविक पदमा मलाई अनेरास्ववियुको जीवनको सङ्गीन र विषम परिस्थितिमा नेतृत्व गर्नु भएका अनेरास्ववियु केन्द्रीय कमिटीका उपाध्यक्ष एवं तत्कालीन स्ववियु सभापति भक्त गुरुङ्गले सिफारिस गर्नुभो,त्यहाँ योग्यता ,क्षमता र पुरानो भन्दा नि तपाईंसितै जोडिएकै कारण कनिष्ठ मित्रहरू भन्दा तल प्रस्ताव गर्नुभो,आत्मसम्मानमा ठेस पुग्ने त्यो निर्वाचनको मलाई मेरालागि प्रस्ताव गरेको पदाधिकारी पद मैले स्वीकार गरिन किन कि,वहाँ प्रस्तावक तपाईंको नेतृत्वलाई इच्छा गर्ने खालको पहिल्यै हुनुहुन्थेन,वहाँको एसोसिएसन पहिल्यै क.केपी सित थियो,म मज्जाले कोपभाजनमा परे,यद्यपि तपाईंलाई काधमा निरन्तर बोके मैले,लगातार शिरमा सजाए।
२०५९ फाल्गुन पहिल्यै तत्कालीन नेकपा एमालेको सातौं राष्ट्रिय महाधिवेशन भयो,तपाईं फेरि पार्टीको महासचिव हुनुभो।गण्डकीमा तपाईंको अनुकूलको पार्टी नेतृत्व निर्माण भो,त्यो नेतृत्वले २०५९ फाल्गुनमा पृथ्वीनारायण क्याम्पसमा हुने स्ववियु निर्वाचनमा सोभियत ढकाल सभापति ,होम नेपाली उपसभापति र मलाई सचिवमा सहित अरु साथीहरूको ब्यवस्थापन हुने गरी निर्णय गर्‍यो तर त्यो बर्ष दुर्भाग्यवश अखिल क्रान्तिकारीका कारण निर्वाचन भएन।
त्यस्तै म अखिल कास्कीको अध्यक्ष भैरहेकै बेलामा २०६० साल भाद्र महिनामा अनेरास्ववियुको अर्को राष्ट्रिय सम्मेलन काठमाडौमा भयो,तपाईं महासचिव भएको तत्कालीन नेकपा एमाले स्थायी कमिटी र विद्यार्थी फ्र्याक्सन कमिटीले अनेरास्ववियुका तत्कालीन उपाध्यक्ष भक्त गुरुङ्गलाई अनेरास्ववियुको केन्द्रीय कमिटी अध्यक्षमा निर्णय गर्‍यो,माधव कमरेड ।गण्डकी र कास्कीले नै अनेरास्ववियुको अध्यक्ष पाउनु हाम्रालागि निकै खुशी र गौरवको बिषय हुनुपर्थ्यो तर तपाईंको घर कोटेश्वर र तत्कालीन विद्यार्थी इन्चार्ज सुरेन्द्र पाण्डे कमरेडकोमा ठूलो डेलिगेशन टोली लिएर गै निर्णय किन उल्ट्याउनु पर्थ्यो हामीले ,किन अखिलको अध्यक्षमा क. राजेन्द्र राई दोहोर्‍याउनु पर्थ्यो त हामीले ?त्यसको सबैभन्दा ठूलो मर्कामा आखिर म परे,तपाईंको किचन क्याबिनेटको दावा गर्ने म तपाईंको बिचार समूहको नेतृत्व निर्माण गर्ने खेलोफड्कोको नेतृत्व गर्दा साथीहरूको चर्को घेराबन्दीमा परी जम्मा ३ मतले राष्ट्रिय सम्मेलनमा जिल्ला कमिटीको अध्यक्ष म मेरो कमिटीका दुई सदस्यसित आफैं पराजित भए म,सम्भावित विद्यार्थी नेतृत्व को शिखरमा पुग्ने म त्यतिबेलै ठूलो दुर्घटनामा परे,आफूमा भएको अधैर्यता समेतका कारण बिद्यार्थी राजनीतिबाटै पलायन हुनुपर्‍यो,यो त म प्रतिनिधि पात्र मात्र हो,तपाईंको नामसित जोडिएका सयौं साथीहरुको स्थिति यस्तै छ।
क. माधव नेपाल ,तपाईं पार्टीको आदरणीय नेता हुनुहुन्छ। तपाईसितै जोडिएका कारण ,कुनै हलचल लिपिक्क टासिएकै कारण ,तपाईंलाई सुमेरु पर्वत बनाएकै कारण त्यसको असर भोग्नेमा कास्कीमा अङ्क १ अगाडि कुनै अङ्क गणिती ज्ञहरुले पत्ता लगाएका छन् भने म त्यो अङ्कभित्र पर्ने आधारहरु सहितको प्रमाण पेश गर्न तयार छु। तपाईंले नेतृत्व गर्नुभएको बिचारलाई बोक्दा कति ठाउँमा बिबादित भैयो,अपमानित भैयो,बिचार र बहसबाट कहिलेकाहीँ अलग हुँदा र भौतिक रूपमा उपस्थित हुँदा कतिपटक त तत्कालीन नेकपा एमाले कास्कीलाई २४ घण्टे लिखित स्पष्टीकरण दिनुपर्‍यो मैले,यसको प्रत्यक्ष छाप र असर स्वतन्त्र बिद्यार्थी युनियनका निर्वाचनमा उमेदवार हुने बेलामा पर्‍यो किन कि,बिद्यार्थीमा हामीले जबर्जस्त नेतृत्व स्थापित गरिदिए पनि कास्कीको पार्टीले तपाईंले बोकेका एजेन्डा खासै कहिल्यै बोकेन,यो त राम्रै याद होला? यसमा तपाईं कै कमजोरी हुन सकछ। कहिल्यै हेक्का राख्नु भो ,यस्ता कुराको?
पार्टीको आन्तरिक जीवनको दुर्घटनाका बेला तपाईंले नेतृत्व गर्नुभएको पार्टीको अनेरास्ववियुको नेतृत्व हामीले गर्दा मासिक स्रावका बेला रगतको आहालमा डुबेका बेसहारा एकल आमालाई औषधोपचार र उद्दार गर्न सकिन मैले ,जीवन सङ्गीनी सुत्केरी हुँदा अस्पतालमा कुरिन,हिफाजत गरिन मैले, एक छाक
खाना पकाएर ख्वाउन सकिन मैले,सुत्केरी श्रीमतीका र नालाबालाका लुगाफाटो धुन सकिन मैले ,मेरी छोरीको न्वारानका बेलामा स्ववियु निर्वाचनको नेतृत्व गर्नु पर्दा मैले सुत्केरो अम्काएर बाउ भएर हातमा जनै लगाउन पाइन,मेरी जेठी छोरी जन्मेको २०५७ फाल्गुन ३ गते,तपाईंका कारण उमेदवारी नपाएको मैले फाल्गुन ३ गते उम्मेद्बारी दर्ताको चाजोपाजो मैले मिलाउनु पर्ने सबै क्याम्पसमा १४ गते चुनाव ,म चुनावमा ,अनि १४ गतेको बाउले उम्काउनु पर्ने न्वारान मैले किन छोडेको?पोखराको त्यतिबेलाको अवस्था त यादै होला माधव कमरेड ?त्यही चैतमा छोरी १.५ महिनाकी,तपाईंले चैत्र १६-१८ लाउडा काण्ड बिरुद्द तीन दिने आम हडताल आयोजना गर्नुभो,पोखराको महेन्द्रपुलमा क.खगराज,पुण्य पौडेल र म काङ्ग्रेसका गुण्डाहरुको आक्रमणमा परी बालबाल बाचेउ,तपाईंका नाममा ,तपाईंको नेतृत्व सफल बनाउन । २०५६ सालको आमनिर्वाचनका बेला समेत सयौंको खेलाडी गुण्डाहरुको आक्रमणमा पनि त्यस्तै ।
कहिले शाही शासनकालमा प्रतिगमन आधा सच्चियो भनेर पार्टीलाई बिबादास्पद सत्तारोहण गराउनुभो,कहिले आफ्नो शक्ति कति छ भनी खास आङ्कलन गर्न नसकी २०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालीन माओवादीसित चुनावी कार्यगत एकता गर्ने सूक्ष्म योजना बनाउन नसक्दा पार्टी तेस्रो भयो,कमरेड आफ्नो नेतृत्वको आत्ममूल्यांकन गर्नु पर्छ कि पर्दैन?
२०६४ सालको संविधान सभाको निर्वाचनमा तत्कालीन एमालेको लज्जास्पद पराजयपछि तपाईं क.केपी ओलीको ढाडमा टेकेर प्रधानमन्त्री भएको क. माधव नेपाल तपाईलाई याद छ कि छैन? तपाईंले नेतृत्व गर्नुभएको सरकारका बिरुद्द आफ्नै पार्टीका सभासदहरुले हस्ताक्षर गर्दा तपाईंलाई जुरुक्क बोकेको क. केपीले हो कि हैन?तपाईंले नेतृत्व गरेको सरकारका बिरुद्द काठमाडौमा बेडबिस्तारा , रासन र झोला सहित तपाईंलाई सडकमा लछारपछार गर्न बीसौं लाख मानिसहरू भेला पर्दा तिनीहरूलाई तितरबितर पारेको क. केपी र महेश बस्नेतहरुले हो कि हैन?तपाईंलाई क. केपीले कहिले सहयोग गर्नुभएन र तपाईंले क. केपीलाई कहिले सहयोग गर्नुभो हिसाबकिताब छ?यसकारण क. माधव तपाईंका बिगत केही बर्ष यताका गतिविधिहरु क्षमायोग्य छैनन् ,तपाईंको मित्रलाई गर्ने ब्यवहार ,शैली र तौरतरिका दु:खद छन् ,खेद जनक छन् ।क . मदन र मनमोहन पछि तपाईंलाई श्रद्दा गर्ने पार्टी कार्यकर्ता र सारा जनसमुदाय तपाईंलाई देखेर वाक्क-दिक्क छन् । आदर,सम्मान र शिर झुकाउन छोडेका छन् र तपाईं प्रति गौरवबोध गर्न छोडिसकेका छन् । क. माधव तपाईंलाई प्यारा कार्यकर्ता र पार्टी सदस्यले जुम्राले जीउ छोडे झैं छोडिरहेका छन् ।
अझ यतिमात्र हैन, क.माधव नेपाल तपाईं समआदरणीय नेता हुनु भए पनि निम्न उल्लेखित कुराहरु गम्भीरतापूर्वक मनन गर्न हार्दिक अनुरोध गर्दछु:-
दुबै अध्यक्षहरु सबैभन्दा शक्तिशाली छन् ,महाधिवेशन बाहेक अरु कसैले हटाउन सक्दैन ,बरु यो तिकडम दोस्रो र तेश्रो हुनका लागि हो,अहिले केपी सित कसैको प्रतिस्पर्धा हुन सक्दैन ।
कम्युनिस्ट पार्टी भित्र पार्टीका सदस्यहरु निर्णयमा सार्वभौम छन् । अध्यक्षात्मक प्रणालीमा पार्टीका प्रतिनिधि सदस्यहरुद्वारा प्रत्यक्ष निर्वाचित पार्टीका पदाधिकारीलाई मानसिक सन्तुलन ,फौजदारी अभियोग वा प्रमाणित हुन सक्ने चित्तबुझ्दो आधार वा महाधिवेशन बाहेक अरु कुनै अङ्क गणितीय जोडघटाउको आधारमा नेतृत्वको पुनर्गठन हुन नसक्ने हाम्रो बिधिसम्मत ब्यवस्था र पद्धति छ। अर्को दुई पार्टीको एकता का बेला गरिएको दुबै अध्यक्षको संयुक्त हस्ताक्षर र सहमतिमा मात्र हरेक बिषयको निर्णय गर्ने अन्तरिम बिधानमा ब्यवस्था छ।अन्तरिम बिधानले दुई अध्यक्षलाई विशेष अधिकार दिएको छ,नकि,एकले अर्कोलाई बाईपास वा निषेध गरेर अगाडि बढ्न सक्छ? सबैभन्दा महत्त्वपूर्ण बिषय र अकाट्य कुरा महाधिवेशन बाहेक पार्टीका कुनै पनि कमिटीले केपी ओली र प्रचण्डलाई हटाउन सक्दैनन् ,यसको अर्थ केपी ओली वा प्रचण्ड पार्टी भित्रका बादसाह हुन् ,हामी दास हौं भन्ने हैन,बहुपदीय प्रणाली सहितको अध्यक्षात्मक नेतृत्वको अभ्यास भनेको पार्टी सदस्यहरुबाट निर्वाचित महाधिवेशन प्रतिनिधि हरुको मतदानबाट मात्र नेतृत्व निर्माण हुन सक्छ,तत्कालीन एमाले अध्यक्ष केपी ओली आफ्ना प्रतिस्पर्धी माधव नेपाललाई पराजित गरी निर्वाचित अध्यक्ष हुन् ,बरु तत्कालीन माओवादी केन्द्रको पार्टी जीवनभित्रको आन्तरिक लोकतान्त्रीकरण र महाधिवेशन हुन्थ्यो वा हुदैनथ्यो ,आत्मसमीक्षा गरौं ।अनि बल्ल अन्टसन्ट बोलौ,`भारतले हैन राजीनामा मागेको,मैले हो राजीनामा मागेको´ भनौं ।अनि सम्झौता याद छ कि छैन,एउटै घोषणा पत्र सहित आमनिर्वाचनमा जादा केपी ओलीको लोकप्रियताको फोटो देखाएर तपाईं प्रचण्ड ,माधव र झलनाथ लगायतले चुनाव जितेको हो कि हैन? कि त्यतिबेलै सम्झौता थियो प्रधानमन्त्री आलोपालोको? स्थिर सरकारका लागि केपी ओलीलाई अगाडि सारेर चुनावमा गएको हो कि हैन? बिसर्जन को हुन लागेको थियो? तर,हामीलाई हेक्का छ,तत्कालीन एमालेलाई हराउन त चाहिँ माओवादी केन्द्र काफी नै थियो जसरी भरतपुर निर्वाचनमा सर्ल्यामसुर्लुम काङ्ग्रेससित बिजातीय आत्मसमर्पण गरियो। तर,आफ्नो हालत डाइनोसरको कथा जस्तै एकादेशको कथा थियोे माओवादी केन्द्र भन्ने निश्चित दूर्घट्ना हुने कुराको याद छ कि छैन? १७००० मानिसलाई हतियार बन्द सहितको जनयुद्धमा सहादत प्राप्त गराएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा सबै भन्दा ज्यादा योगदान भएको नेतृत्व हाल सबैले गौरवबोध गर्न लायक हुनुपर्छ कि पर्दैन?कसरी पार्टी भित्र चरम गुटबन्दी गरी पार्टी र राज्यसत्ता कब्जा गर्ने घृणित दाउपेच हो भने त्यो किन्चित पूरा हुनेछैन,त्यो त मरुभूमिमा गर्मीको बेला देखिने मिराज र मनको लड्डु घ्यूसित खाउ जस्तै हो। पार्टीलाई उभयलिङ्गी पार्ने र गान्धी डिभिजनमा पुर्याउने र आफ्नो पूरै जीवनभरि समग्र राजनीति भित्रै अस्थिरता सृजना गर्न खोज्नेहरुको बुई चढेर न प्रधानमन्त्री हुन सकिन्छ ,न त आगामी महाधिवेशनमा पार्टी सदस्यहरुबाट निर्वाचित अध्यक्ष हुन सकिन्छ?किन कि,यस्तो अस्थिरताको सृजना गर्ने,मुलुक अस्थिर तुल्याउने ,राष्ट्रियताको आन्दोलन कमजोर पार्न हरहमेसा गुटबन्दी गरिरहनेहरु आगामी महाधिवेशनमा अनुमोदित हुने सम्भावना शून्य हैन ऋणात्मक छ । जोसुकैको काधमा राखेर क.केपीलाई गोली पड्काउन खोजेपनि नेपाली जनता राम्रैसङ्ग सामना गर्ने योजनामा छन् । प्रधानमन्त्रीबाट हट्ने हो भने ५ बर्षको स्थिर सरकारका लागि केपी ओलीको ब्राण्ड देखाएर चुनाव जितेको भन्ने साचो कुरालाई बिबेक गुमाएर हैन भन्ने हो भने संसदीय दलमा बहुमत पुर्‍याउनु पर्‍यो। यी भन्दा अरु बिकल्प के छन् ? यसप्रकार आफ्नै पार्टी भित्रको अन्तरद्वन्द र कम्युनिस्टहरुको अन्तर कलहमा नै आफ्नो सुदूर भविष्य देख्ने दुबै खाले तत्वहरु पुन: सरकार र केपी ओलीमाथि चौतर्फी आक्रमणमा अभ्यस्त बनिरहेका छन् । संविधान निर्माण पश्चात् देशमा चुनावमा लामो समयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को करीब दुई तिहाई बहुमत सहित केपी ओलीको नेतृत्वमा सरकार बनेको छ । नेपालमा सधैं अस्थिरतामा सरकार बन्ने र गिर्ने अवस्थामा केपी ओलीको नेतृत्वमा भएको चुनावमा जनताले बहुमतका साथ पाँच वर्ष सरकार संचालनका लागि जिम्मेवारी दिएको हो । अनि यही सरकारले सत्ता चलाउदा किन दाम्लो चुडाल्नु पर्‍यो?कमीकमजोरी भए राख्नुपर्‍यो,सच्याउन सकिन्छ,हेरफेर गर्न सकिन्छ तर पुनर्गठन गर्न सकिन्न।अहिले पार्टी भित्र हङ्गामाको नेतृत्व गर्ने ७० बर्ष वरिपरिका पार्टी प्रमुख र पूर्व प्रधानमन्त्रीहरु सबै म्याद गुज्रिएको ओखती जस्तै छन् ,यिनीहरूले अब भयंकर कुनै उलटपुलट गर्न सक्दैनन् ।अब नेतृत्वको पुस्ता हस्तान्तरण आगामी महाधिवेशन र निर्वाचन पछि अपरिहार्यरूपमा हुनु पर्दछ।
यही समयमा देशमा विश्वव्यापी रुपमा फैलिएको कोरोनाले मुलुक आक्रान्त बनाइरहेको यद्यपि सरकारले राम्रो काम गरिरहेको, भारतले अतिक्रमित गरेको भूमिलाई नेपालको नक्सामा नै समाहित गरी संसदबाट नै संविधान संशोधन गरिरहेको बेला सरकारमाथि पार्टी भित्रबाट गरिने प्रहार नेपाली जनतालाई सह्य हुन सक्दैन ।
अझ यतिमात्र हैन, केपी ओली नेतृत्वको सरकारले देश र जनताको आवाजलाई सम्वोधन गर्दा भारतीय विस्तारवाद र भष्टाचारविरुद्धको अभियानमा धावा बोलेको बिषय छिपाउन खोज्नु खेदजनक छ । यस्तो परिवेशको फाइदा लिने, सँधै अस्थिरतामा खेलेर आफ्नो भूमिका खोज्नेहरुको साथ लिएर भारत नेपालमा अस्थिरता निम्त्याउन चाहन्छ ।
देशमा प्रतिपक्षीले त सरकारको काम कारवाहीमाथि खासै प्रश्न उठाउन नसकेको बेला घर भित्रैबाट सरकारको सकारात्मक काम देख्न नसक्नु दूराग्रह, पूर्वाग्रह र स्वार्थ बाहेक अरु केही हुन सक्दैन ।
नेकपाको स्थायी समितिको बैठकमा एजेण्डाको ओभरट्याग प्रधानमन्त्रीको राजीनामा माग्ने भनेको देशमा पुन: अस्थिरता निम्त्याउने बाहेक केही हुन सक्दैन । यही बुझेको भारत नेपालमा नेपाल कम्युनिस्ट पार्टी( नेकपा) का नेताहरुलाई नै प्रयोग गरेर ओली सरकार हटाउने अभियानमा लागेको छ भने स्वार्थकेन्द्रित राजनैतिक दलहरु भारतको गुलामी गरेर शक्ति र सत्ता हत्याउने अभियानमा छन् । जुन नेपाली जनताको अभिमत र भावनाविपरित छ। प्रधानमन्त्रीद्वारा प्रस्तुत बिचारले देशको भारतसँगको कुटनैतिक सम्बन्धमा प्रश्न चिन्ह खडा भएको मिथ्या कुरा गर्नेहरुले आफ्नो भूमिका र कर्तव्य सोच्नु पर्दैन ? देशको सार्वभौमसत्ता ,राष्ट्रिय अखण्डता र स्वाभिमानमा ओलीको भूमिका नेपाली समकालीन नेताहरुमा भेट्टाउने त परैको कुरा हो,ओलीको तुलनामा दोश्रो हुने समेत छैनन् मात्र दोश्रो को हुने दौडधूपमा नेकपा भित्रका पूर्व प्रधानमन्त्रीहरुको रस्साकस्सी छ।ओली र यिनी पूर्व प्रधानमन्त्रीहरुको बीचमा जनमत सङ्ग्रह गर्ने हो भने यिनीहरुको लज्जास्पद पराजय बाहेक केही हुन सक्दैन।ओली सरकार ढालेर देश र आम जनताले केही प्राप्त गर्न सक्दैन, मात्र देशमा अराजकता सृजना हुन्छ,दण्डहीनता मौलाउछ,देशै ठप्प हुन सक्छ। अस्थिरताको बीजारोपण बाहेक केही हुन सक्दैन ।
नेपाली जनताको अभिमतको उल्टो हुने गरी
नेकपाभित्र नै शक्ति र सत्ताका लागि पार्टी र सरकारको नेतृत्वको राजीनामा माग्नु घर पोलेर खरानीको चाहना गर्नु शिवाय के हुन सक्छ ? ओलीको विकल्प को त ? ओलीले के गरे देशको हित विपरित ? त्यसको मूल्यांकन नगरी फगत स्वार्थका लागि ओलीको राजीनामा माग्ने भनेको रिस,डाहा र उत्तेजनाले मात्र हो । ओली सरकारको विकल्प अब बाकी अबधिसम्म कल्पना गर्न सकिन्न । ओलीलाई हटाएर अन्य कोही प्रधानमन्त्री अथवा अध्यक्ष हुँदैमा एकैचोटी परिवर्तन छुमन्तर हुनेवाला छैन । यो बोध हुदाहुदै पनि पार्टीका अर्का अध्यक्ष लगायत स्वार्थी र पदलोलूप नेताहरुले ओलीको बर्हिगमन रोज्नु अन्ततोगत्वा आफ्नै पतन हो । किनकि, पार्टीका अर्का अध्यक्ष प्रचण्ड , माधव नेपाल ,झलनाथ ,बामदेव टेस्टेड नेताहरू नै हुन् सबै खाले तराजुमा यिनीहरू केपीमाथि लागेको जनताको गुरुत्वबलसित छेउमा पनि आउदैनन् । बिगतमा जनताले कुनै भयङ्करको आभास गर्न सकेनन् यिनीहरूबाट । घट्नाक्रमले यही प्रमाणित भएको छ।

नेकपा ठूलो पार्टी बन्नुमा सबै नेताको भूमिका भएता पनि मुख्य केपी ओलीको नै हो । यो एकमात्र सत्य हो । जुन लुकाउन र ढाक्न सकिँदैन । यो आम जनताले बनाएको सबैभन्दा ठूलो पार्टी ओलीको कार्यदिशा, योग्यता र क्षमता देखेर नै हो । जुन परिणाममा पनि देखियो । यति धेरै सफेद हुदाँहुदै पनि सत्ता र शक्तिको लोभमा परेर देश र विश्व नै चकित पर्ने गरी ओलीको राजीनामा माग्नु भनेको वनिसकेको घरमा हडप्न खोज्नु हो जुन आम जनताले मुल्यांकन गरिरहेका छन् । किनकि, तत्कालीन नेकपा माओवादीको हैसियत पनि नेपाली जनताले देखिसके । सरकारमा हुदाँ विदेशी सामु लम्पसार पर्ने, केही गर्न नसक्ने, अनि ओलीको वैशाखी टेकेर ओलीलाई नै हान्ने भनेको न्यायसंगत हुन सक्दैन । सरकारको काम कारबाही आम जनताले मूल्यांकन गरिरहेका छन् । सरकारले जनहितमा राम्रो काम गरेको आम जनताले अनुभूत गरिरहँदा पार्टी भित्रबाट नै राजीनामा मागिनु भनेको दलाली र कमजोर मानसिकता भन्दा केही होइन ।
ओलीले नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पहिलो पार्टी बनाएको हो । अर्काले ठूलो बनाएको पार्टीमा लोभ गरेर नेतृत्व गर्न खोज्नु भनेको भंयकर राजनैतिक बेईमानी बाहेक केही हुन सक्दैन ।

सरकारको बारेमा स्थायी समितिका निश्चित व्यक्ति के भन्छन् भन्ने भन्दा पनि आम जनता के चाहन्छन् भन्ने महत्वपूर्ण विषय हो । अहिलेको सन्दर्भमा नेपाली जनताले केपी ओलीको सरकार नै चाहन्छन् । सीमित नेताहरु पोखरीको माछालाई बल्छी हाने झैं हुन जरुरी छैन । चाहना हुनु गलत हैन, तर अनावश्यक ढिपी,उत्कण्ठ चाहनाले राम्रो गर्दैन । पार्टी र सरकार दुबैबाट ओलीको राजीनामा माग्नु देशलाई अस्थिरता तर्फ धकेल्नु हो । जुन आम जनताले वुझेका छन् र यसका मतियारहरुलाई भोलि महान जनताले अवश्य पनि दण्डित गर्ने छन् ।
नेकपाको नेतृत्वका लागि महाधिवेशनबाट चुनिनु पर्ने व्यवस्था विपरित कूनोमा पारेर,झ्यालबाट छिरेर नेतृत्व हत्याउन खोज्दा भोलि हुने दुर्घटनाको जिम्मा कसले लिन्छ ? हिजो १५ वर्षसम्म पार्टीको नेतृत्व गरेर तेश्रो पार्टी बनाएका माधव नेपालले अस्थिर प्रचण्डको पछाडि लागेर ओलीको राजीनामा माग्नुले नेपाली जनता प्रति चिन्तित छैनन् भन्ने प्रष्ट भएको छ । इच्छा र चाहनाले हैन, आवश्यकताले नेतृत्वको जन्म हुन्छ, अहिलेको आवश्यकता भनेको ओली नै हो । जुन आम जनताको भावना हो । यो भन्दा बाहिर गएर गरिने क्रियाकलापको नेपाली जनताले अवश्य पनि मुल्यांकन गर्ने नै छन् ।

हिजोको प्रचण्डको हैसियत र माधव नेपालको हैसियत आम नेपालीले नापिसकेका छन् । ओलीले सर्वोत्कृष्ट बनाएको पार्टीमा ओलीलाई नै हटाएर आफूले राज गर्ने अबान्छित कोसिस, दुश्साहस र निकृष्ट हर्कत गर्नु प्रतित्युपादक छ। अहिलेको पुस्ता कसैको दास बन्न सक्दैन।
ठीक र बेठीक जनताले बोध गर्ने कुरा हो । योगदान र भूमिकाका आधारमा भन्दा पनि सत्ताका लागि गरिएको तिकडमले पार्टीलाई मात्र होईन, देश र आफैंलाई पनि हानी हुन्छ । यो जीवन्त सच्चाइलाई ओलीको राजीनामा माग्नेहरुले बेलामा नै सोचेको राम्रो , सहानुभूति दिन सकिन्छ , काँध थाप्न सकिंदैन ।
आगामी दिनमा पार्टी नेतृत्व र सरकारको नेतृत्वको पुस्ता हस्तान्तरण आवश्यक छ तर त्यो हस्तान्तरण माधव, प्रचण्ड र झलनाथ हुन सक्दैन , युगको सम्बोधन गर्न सक्ने पुस्तामा आउनु पर्दछ किनकि, सबै नेतृत्वलाई महान जनताले नजिकबाट नियालिसकेका छन् । बिकल्परहित केही छैन तर केपी ओली यस युगकै सबैभन्दा योग्यतम र सर्वोच्च नेता हो यस युगको तर योग्यतम पार्टी नेकपाभित्र थुप्रै दोश्रो पुस्ताका नेताहरु योग्यतम छन् जसले पार्टी र सरकारको नेतृत्व गर्ने हैसियत राख्दछन् । ओलीको सरकार ढालेर प्रचण्ड अथवा माधव नेपाल प्रधानमन्त्री अथवा अध्यक्ष बन्दा हुनेवाला केही छैन ,कसैसँग जादूको छडी छैन। अहिलेको आवश्यकता भनेको ओली नै हो ,ओली बाहेक अरु कोही हुन सक्दैन। ओली सरकार ढालेर देश र जनताले सास्ती बाहेक केही प्राप्त गर्न सक्दैनन्, मात्र देशमा अराजकता सिर्जना गर्ने देश भित्र र बाहिरका देशीविदेशी प्रतिक्रियावादीहरु सल्वलाइरहने, अस्थिरता निम्ताउने बाहेक केही हुन सक्दैन । अहिले राष्ट्रिय एकताको खाचो छ,गोत्र हसाउने बेला हैन यो,सरकार र पार्टीको नेतृत्व फेर्ने कुरा आम्शिक सत्य होला तर हेक्का राख्नुस न त यो बिषय आम सच्चाइ छ,न सार्वभौम सच्चाइको नजिक छ।एउटालाई हटाएर अर्को सत्तासीन हुने पद्धतिले राम्रो सन्देश दिदैन।फेरि सत्तासीन हुन चाहनेले फेरि हटाउन खोजिएकाको जरा,काण्ड ,हागाबिगा कहाँ पुगेका छन् ?आफ्नो हालत के छ?ख्याल् गर्ने कि?यसकारण क.केपीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट मागिएको राजीनामा बेतूक र औचित्यहीन छ। नेतृत्व हस्तान्तरणको लागि कि पार्टीको महाधिवेशन छिटो आह्वान गरौं ,आगामी निर्वाचनमा चुनाव जितेर आउनुस ,आखिरमा पाइ त हालिन्छ।

लेखक: नेकपा कास्कीका नेता हुन् !

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter