पोखराको मुख्य भाग अर्थात् लखन चोक । जुनसुकै ठाउँबाट बस चढेर आएकाहरु ओर्लने ठाउँ हो यो । न्यूरोड चिप्लेढुंगा जाने बाटोमा पर्ने सभागृह चोक लखनचोकबाट पैदल हिँड्दा मात्रै ५ मिनेटको दुरीमा छ ।

सभागृहचोकबाट उत्तरतर्फको सुन्दर हिमाल दृश्यसँगै न्यूरोडको यात्रा सुरु हुन्छ । चोकबाट झण्डै २ मिनेट उत्तरतर्फ लाग्दा पहिले ‘दिपेन्द्र सभागृह’को नाममा परिचित सभागृह आइपुग्छ । सभागृहबाट ठिक विपरित उभिएको ‘मिडटाउन’ पछिल्लो केही वर्षदेखि पोखरामा आधुनिक व्यापारिक केन्द्र बनेको छ । सोही मिडटाउनसँग जोडिएर सुरु हुने गल्लीको मिडटाउनकै ठिक विपरित बायाँतर्फ छ ‘सरुमा चुल्हो एण्ड बार’ । जसलाई न्युरोडको सडकको पारीपट्टीबाट नै देख्न सकिन्छ ।

पृष्ठभूमीका हिसाबले बिनु–बसन्ती फरक–फरक क्षेत्रमा काम गर्दै अगाडि बढेका व्यक्ति हुन् । बिनुले कलेजको पढाइसँगै आफ्नो करिअर जागिरबाट शुरु गरेकी थिइन् । तर, उनी जागिरमा आफ्नो भविष्य देख्न सकिनन् । केही वर्षको सरकारी अस्थायी जागिर छाडेर बिनु रोजगारका लागि जापान गइन् । झण्डै एक दशक लामो जापान बसाइपछि नेपालमा नै व्यवसायिक जीवन सुरु गर्ने उद्देश्यले उनी गत साल मात्रै नेपाल फर्किएकी हुन् ।

त्यस्तै, कलेजको पढाईसँगै बसन्तीले पत्रकारिताबाट आफ्नो करिअर सुरु गरिन् । अन्य विभिन्न सहायक कामहरुसँगै अहिलेपनि पत्रकारितालाई उनले आफ्नो मुख्य पेसा बनाइरहेकी छन् । बिनु र बसन्ती स्वभाव र शैलीका हिसाबले आधुनिक पुस्ताका महिला हुन् । दुबैजनाले आफ्नै नेतृत्वमा उद्यम सञ्चालन गर्ने इच्छा र प्रयास पहिल्यैदेखि नै राख्दै आएका थिए ।

बसन्तीले केही वर्ष अगाडि पनि पोखरामा होटल सञ्चालन गर्ने सोच बनाएकी थिइन् । तर, सबै परिवेश अनुकुल नभएकाले सुरु भने गर्न नसकेको उनको भनाइ छ । झण्डै एक वर्ष अगाडि बिनु–बसन्तीले लगानी जुटाउन सके पोखरामा फरक पहिचानको रेष्टुरेन्ट सञ्चालन गर्न सकिने सल्लाह गरे ।

खासगरी खाना तथा खाजा खाँदा पनि ग्राहकलाई कसरी आनन्द दिन सकिन्छ भन्नेमा आ–आफ्ना अनुभवहरुलाई लिएर अहिलेको ‘सुरुमा’को डिजाइन तयार भएको बिनु बताउँछिन् । रेष्टुरेन्ट कुन मोडेलमा सञ्चालन गर्ने भन्ने विषयमा प्रायः सञ्चालकहरुले धेरै सोचेर गर्ने गर्छन् । पोखरामा रेष्टुरेन्टहरुको कुनै अभाव छैन । तर, त्यहाँ नयाँ फरकपनको विशेषता कसरी बनाउने भन्नेमा उनीहरुले धेरै सोचविचार र सल्लाह गरे ।

‘सरुमा’ एउटा पुरै घरमा सञ्चालन गरिएको छ । रेष्टुरेन्टको गेटबाट प्रवेश गर्नेवित्तिकै सजिसजाउ बगैंचा जस्तो परिवेशले ग्राहकलाई स्वागत गर्छ । रेष्टुरेन्टको भवनभित्र प्रवेश गर्नुअगाडि नै कफी बार निर्माण गरिएको छ । बाहिरी वातावरणमा नै बसेर कफी पिउन तथा खाजा खान चाहनेहरु बाहिर नै बसेर लिन सकिन्छ । ‘सरुमा’ले रेष्टुरेन्टलाई बालमैत्री होस् भन्ने हिसाबले भुईंतलाको बगैंचा र टपमा झुलन कुर्चीहरुको व्यवस्था पनि गरेको छ ।

साढे दुई तले घरमा सञ्चालनमा रहेको ‘सरुमा’का भिन्न–भिन्न तलामा भिन्न भिन्न विशेषता छन् । रेष्टुरेन्टमा पारिवारिकदेखि मझौला स्तरका बर्थडे पार्टी, खाना खाजा सहितको छलफल, बिहानदेखि बेलुका सम्मका स्वादिष्ट खाना/खाजा पाइन्छ । ग्राहकहरुसँग ट्याबको प्रयोग गरेर अर्डर लिने तरिकाको अवलम्बन गरिएको छ ।

खाना तथा खाजामा नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल र सी फुडमा अन्तर्गत पर्ने परिकारहरु पाइन्छ । सबै प्रकारका ग्राहकहरुलाई लक्षित गरेर परिकारहरुको व्यवस्था गरिएको सञ्चालक बिनु बताउँछिन् । रेष्टुरेन्टको अहिलेसम्म ‘ग्रयान्ड ओपनिङ’ भैसकेको छैन तर व्यापार भने निकै राम्रो भइसकेको छ ।

अहिलेसम्म रेष्टुरेन्टको निर्माणमा दुई सञ्चालकले २ करोड ५० लाख भन्दा धेरै लगानी गरिसकेका छन् ।  मंसिरको अन्तिम साताबाट सञ्चालनमा आएको रेष्टुरेन्टमा अहिले दैनिक औसत ५० हजारभन्दा धेरैको व्पापार हुने गरेको सञ्चालिका बिनु बताउँछिन् । अहिलेसम्म भइरहेको व्यापारबाट मात्रै पनि सम्पूर्ण खर्च कटाएर एकजना सञ्चाकले मासिक रुपमा १ लाख भन्दा धेरै आम्दानी गर्न सक्ने तर व्यवसायको अवस्था वृद्धितर्फ भएकाले भविष्यमा राम्रो आम्दानी हुने अनुमान सञ्चालकहरुले गरेका छन् ।

‘रेष्टुरेन्टमा अनिवार्य हुनुपर्ने पक्ष भनेको स्वाद, गुणस्तर, आतिथ्यता र वातावरण हो, हामीले यसमा अब्बल बनाउने कोशिस गरेका छौं’, बिनु भन्छिन्, ‘सायद यसैले होला ग्राहकहरुको आकर्षण बढ्दो छ ।’ विगतमा आम्दानीको लागि विभिन्न क्षेत्रलाई रोजे तापनि होटल, रेष्टुरेन्ट तथा आतिथ्यताको क्षेत्रलाई नै अब मुख्य बनाउने दुबै सञ्चालकको धारणा छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter