पर्वत/उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको कुस्मा–मिर्मी खण्डमा यसै आर्थिक वर्षभित्रमा ट्रयाक खोलिने भएको छ।
करिडोरको मर्मी–कुस्मा खण्डमा पर्वतको मुडिकुवादेखि अर्मादी र स्याङ्जाको मोहनडाँडादेखि मिर्मीसम्मको थोरै बाँकी रहेको ट्रयाक खोल्ने काम असारसम्ममा नै सक्न लागिएको हो। करिडोरको मिर्मी–कुस्मा खण्डमा झण्डै दुई किलोमिटरमात्रै सडकमा ट्रयाक खोल्न बाँकी छ।
भारतसंँगको सिमाना सुनौलीदेखि उत्तरमा चीनको तिब्बती सीमा कोरल्लासम्म पुग्ने गैंडाकोट–मिर्मी–फलेबास–जोमसोम–कोरल्ला’ सडक ३ सय ७७ किलोमिटर लामो छ। सेतीबेणी–मिर्मी खण्डामा पर्ने पिंँडीखोलाको ठूलोखोलादेखि मिर्मीसम्मको १० मिटर कठिन पहरोमा ट्रयाक खोल्न बाँकी छ भने पर्वतको मोदीबेणीदेखि अर्मादीसम्म मात्रै डेढ किलोमिटर मिटर ट्रयाक खोल्नका लागि काम भइरहेको छ।
‘थोरै मात्र ट्रयाक खोल्न बाँकी छ, यसै वर्षभित्र खोली सक्ने गरी काम अगाडि बढाइएको छ,’ करिडोरको गैंडाकोट–राम्दी–मालढुंगा’ आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो। मोदीबेणी र मोहनडाँडा, मिर्मी खण्डको पहरोमा ट्रयाक बनाउन विष्फोटन गर्नुपर्ने आवश्यकता भएकाले नेपाली सेनाको सहयोग लिनुपर्ने देखिएको छ।
कालीगण्डकी करिडोरमा कालीगण्डकी पश्चिममा पाल्पा–गुल्मी–बागुङ खण्डमा सडकको अधिकांश ट्रयाक नेपाली सेनाले खोलेको छ भने विभिन्न खोलामा बेलीब्रिज बनाउने कामसमेत सम्पन्न गरिसकेको छ। पर्वत खण्डमा भने ठेकेदारले समयमा काम नगर्दा गत वर्ष नै ट्रयाक खोल्ने भनिए पनि अझै काम हुन सकेको छैन।
अहिले फलेबास नगरपालिकाको मुडिकुवादेखि अर्मादी खण्डमा ट्रयाक खोल्ने काम भइरहेको छ। मोहनडाँडादेखि मिर्मीसम्म विष्फोटन गर्नुपर्ने भएकाले सेनाले सहयोग नगरेसम्म काम अधुरै छ। आयोजना कार्यालयका अनुसार फलेबासदेखि अर्मादीसम्मको सडकको ट्रयाक खोल्ने काम असारसम्ममा सक्ने लक्ष्य छ। रानीपानीदेखि फलेबाससम्मको २२ किलोमिटर सडक चक्लाबन्दी गरी ग्राभेल स्टान्डर्डको बनाउन टेन्डर आह्वान भइसकेको छ। त्यसका लागि ३९ करोड ३० लाख बजेट विनियोजन भएको छ। अहिले पनि मोदीखोला, लमायखोला र सेतीखोलामा पक्कीपुल निर्माणका लागि काम शुरू भएको छ भने आँधीखोलामा पुल निर्माणका लागि टेण्डर आह्वान गर्न अन्तिम चरणमा रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो।
‘सडकको धेरै क्षेत्रमा काम भइरहेको छ, बजेटको पनि अभाव छैन’ उहाँले भन्नुभयो–‘भूगोल र ठेकेदारका कारण कहिले काहीँ समस्या आएको छ,’ उहाँले ठेकेदारलाई प्रेसर दिएर पनि लक्ष्य अनुसार समयमा काम सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभयो।
कालीगण्डकी करिडोरको पर्वत–मिर्मी खण्ड जम्मा ५५ किलोमिटर छ भने बागलुङ–गुल्मी–पाल्पा खण्ड यो भन्दा झण्डै ३० किलोमिटर बढी छ। पर्वत खण्डमा समयमा पुल र सडकको काम सक्ने हो भने उत्तर दक्षिण आउने सवारी साधन यही मार्गलाई प्रयोग गर्ने सम्भावना छ। कालीगण्डकी करिडोरको पर्वत खण्डका लागि निरन्तर अभियान चलाइरहेका प्रदेशसभा सदस्य विकास लम्साल यो खण्डको काम जुनसुकै हालतमा पनि समयमा पूरा गराउने बताउनुभयो। ‘कुस्मा–मिर्मी खण्डमा पुल र सडक निर्माणका लागि निरन्तर दबाब र अनुगमन जारी रहन्छ,’ उहाँले भन्नुभयो–‘समयमा नै काम सम्पन्न गर्न बजेटदेखि प्रक्रियागत ढिलाइ हुन दिइने छैन’
पर्वतका प्रतिनिधिसभा सदस्य पदम गिरीले पनि करिडोरको कामलाई जुनसुकै हालतमा पनि सम्पन्न गराउन बजेटको कमि हुन नदिने बताउनुभयो। ठेकेदारका कारण ढिलाइ हुने अवस्थामा नेपाली सेनालाई जिम्मा दिएर पनि काम अघि बढाउनुपर्ने उहाँको धारणा छ। गिरीसहितको टोलीले बागलुङ–गुल्मी खण्डमा नेपाली सेनाले गरेको काम अवलोकन गरेर फर्केको छ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter