काठमाडौंको सुन्धारामा अवस्थित सिभिल मलमा बालबालिकालाई खेल खेलाउने बाल संसार सञ्चालनमा रहेको छ । बाल संसारमा बच्चाहरूका लागि रेलगाडी, ट्यारिफ ह्विल, चिप्लेटी, भिडियो गेम आदि खेलको व्यवस्था मिलाइएको छ । २ वर्षदेखि १४ वर्षसम्मका बच्चालाई खेल खेलाउने गरिएको बाल संसारकी व्यवस्थापक कृपा श्रेष्ठले बताइन् ।

‘बच्चाहरूको सुरक्षालाई उचित ध्यान पुर्‍याउन आवश्यक स्टाफको व्यवस्था गरिएको छ,’ उनले भनिन् । साथै, व्यस्त अभिभावकलाई लक्षित गरी बाल संसारले बच्चालाई दिनभर राख्ने व्यवस्था पनि मिलाएको छ । त्यसका लागि बच्चालाई भर्ना गर्न शुरूमा ५ सय २५ रुपैयाँ शुल्क लाग्नेछ । त्यसपछि एक घण्टाको २ सय ५० रुपैयाँ, दुई घण्टाको ३ सय ७५ र पूरा दिनको ५ सय रुपैयाँ शुल्क लाग्छ ।

बाल संसारले बेलाबेलामा बिदाको दिनमा स्कूलका बच्चाहरूलाई पनि मल भ्रमणमा ल्याउने गरेको व्यवस्थापक श्रेष्ठले जानकारी दिइन् । बाल संसारमा एकपटकमा १ सय ५० देखि २ सय बच्चालाई अटाउन सक्ने क्षमता रहेको छ । त्यसैगरी, यसले विण्टर क्याम्प पनि सञ्चालन गर्दै आएको छ । यस्तो क्याम्पमा बच्चाहरूलाई तालीमप्राप्त व्यक्तिले कला, नृत्य, लेखन, कथावाचन, घुलमिल गराउने, रमाइला खेल खेलाउने गरेको श्रेष्ठले बताइन् । यस्तो क्याम्पमा ३ देखि ५ वर्षसम्मका बच्चालाई १५ दिनका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्छ । ‘त्यस्तै, ६ देखि १४ वर्षसम्मका बच्चाका लागि १८ दिनको क्याम्पका लागि ७ हजार २ सय रुपैयाँ शुल्क लाग्छ,’ उनले भनिन् ।

क्याम्पको आयोजना गर्दा बढीमा ५० जनालाई सहभागी गराइन्छ । बाल संसार सन् २००९ अक्टोबरदेखि सञ्चालनमा आएको हो । यसले हाल १२ जनालाई रोजगारी दिएको छ । यसको क्षेत्रफल १ हजार २ सय स्क्वायर फिट रहेको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter