पहिलो बैठकलाई सम्बोधन गर्न रोष्टममा पुगेकी राप्रपा प्रजातान्त्रिककी सांसद रिना गुरुङले संघीयता २ वर्ष पनि नटिक्ने आशंका भइरहेको बताइन् । ‘संघीयता बढीमा २ वा ३ वर्षभन्दा बढी कार्यान्वयन हुन्न धेरैभन्दा धेरैको कुरा छ, यो धान्न सक्दैन भन्ने पनि जनमानसको कुरा छ’ उनले भनिन् ।
उनले पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुकलाई अखण्ड राख्नुपर्ने बताइन् । दार्जिलीङमा जन्मिएकी र उतै हुर्किएकी गुरुङ विक्रम पाण्डेको कालिका एफएममा जागिर खानका लागि ५ वर्षअघि नेपाल आएकी थिइन् । यद्यपी उनका अभिभावक भने चितवनकै हुन् । पाण्डेकै साथ पाएका कारण भरतपुरको उपमेयरमा हारे लगत्तै उनी राप्रपा प्रजातान्त्रिकले पाएको एकमात्र प्रदेशसभा सदस्यमा पर्न सफल भइन् ।
राप्रपाकी सांसद रिता माझीले पनि पहिलो बैठकमै राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको कुरा उठाइन् । माझीले आफ्नो पार्टीको नीति राजतन्त्र र हिन्दू राज्य रहेकाले यो आवाज उठाउने बताइन् । बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै उनले आफू एक्लै भए पनि प्रदेश संसदमा यो एजेण्डा उठाउने बताइन् ।
सिन्धुली माइती र रामेछाप घर भएकी रिता पनि राप्रपाले पाएको एकमात्र सिटमा सांसद बन्न सफल भएकी हुन् । उनी २०७० मा सिन्धुली ३ बाट संविधानसभा उम्मेदवार बनेकी थिइन् । गत स्थानीय चुनावमा रामेछापको मन्थली नगरपालिकाको उपमेयरमा पराजित भएकी थिइन् ।
प्रदेशसभाको तेस्रो ठूलो दल नेपाली कांग्रेसका सांसद इन्द्रबहादुर बानियाले भने पहिलो बैठकमा स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालादेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई सम्झिए । संघीयता र गणतन्त्रमा मुलुकलाई लगेबापत गिरिजा,संविधान जारी गरेबापत सुशील र चुनाव गराए बापत देउवालाई पहिलो बैठकमा सम्झिनुपर्ने उनको तर्क थियो ।