२० वैशाख, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार मानिने सिद्धार्थनगरको बेलहिया-बुद्धचोक सडक खण्डमा ५० वटा बुद्ध मूर्ति राख्न पहल शुरु भएको छ ।

बेलहियादेखि बुद्धचोकसम्मको ५ किलोमिटर क्षेत्रमा ६ लेन सडकको बीच भाग (डिभाइडर) मा हरेक एक सय मिटरको दुरीमा बुद्धमूर्ति राख्ने योजना छ । सिद्धार्थनगरलाई बुद्धमय बनाउन विश्वकै ठूलो बुद्धिष्ट ध्यान केन्द्र धम्मकाया फाउण्डेसन थाइल्याण्डले बुद्ध मूर्ति दिने भएको छ ।

सडकको बीचमा दुबैतर्फबाट देखिने गरी राखिने बुद्ध मूर्ति साढे ३ फिट अग्ला हुनेछन् । सिद्धार्थ बसपार्कभित्र राखिने बुद्ध मूर्ति भने १५ फिट अग्लो हुनेछ ।

बुद्ध मूर्ति प्राप्तिका लागि स्थानीय सरकार सिद्धार्थ नगरपालिकाले फाउण्डेसनलाई प्रस्ताव पठाउनुपर्ने छ । सिद्धार्थ होटल एशोसिएसनको अवधारणाअनुसार बेलहियादेखि बुद्धचोकसम्म बुद्ध मूर्ति राख्ने पहल थालिएको हो ।

यस सम्बन्धमा सिद्धार्थ नगरपालिका, धम्मकाया फाउण्डेसन र सिद्धार्थ होटल एशोसिएसनका पदाधिकारीबीच छलफल भएको छ । छलफलमा धम्मकाया फाउण्डेसनका विदेश विभाग उपप्रमुख भिक्षु किप्पी पुङले स्थानीय सरकारले प्रस्ताव पठाएमा आफूहरु बुद्ध मूर्ति दिन तत्पर रहेको बताएका छलफलमा सहभागी एशोसिएसनका सल्लाहकार चेतन पन्तले जानकारी दिए ।

बुद्ध मूर्ति राख्नका लागि अब नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र धम्मकाया फाउण्डेसनले सर्वे टोली सिद्धार्थनगर पठाएर नगरपालिकासँग सम्झौता गर्ने सहमति भएको पन्तले बताए ।

सिद्धार्थ नगरपालिकाका प्रमुख हरि अधिकारीले नगरलाई बुद्धमय बनाउने अभियानलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष सीपी श्रेष्ठले बुद्ध मूर्ति राखेसँगै भारतबाट नेपाल प्रवेश गर्ने जो कोहीलाई बुद्धको देशमा प्रवेश गरेको अनुभूति दिलाउने भएकाले यो कामलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

यसअघि सिद्धार्थ नगरपालिकाले नेपाल-भारत सीमा नाका बेलहियामा बुद्धत्व झल्कने नयाँ र आकर्षक प्रवेशद्वार बनाउने प्रकृया अघि बढाइसकेको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter