१७ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली अपराधी र ‘हत्यारा’ भएको टिप्पणी गरेका छन् ।

सत्याग्रही डा. केसीले पछिल्लो समय प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै आएका छन् । उनीविरुद्ध परेको मानहानीको मुद्दा सर्वोच्चमा विचाराधीन छ । त्यही मुद्दामा आफ्नो पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै डा. केसीले प्रधानमन्त्री पराजुली हत्यारा भएको आरोप लगाएका हुन् ।

 

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्राङ्गणबाट डा. केसीले भने- ‘विद्वान अधिवक्ता सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको छ । कसले ? त्यो अपराधी, भ्रष्ट, माफिया, डनको नाइके गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको छ । त्यस्तो मान्छे प्रधानन्यायाधीश हुनसक्छ ? के गरी बस्छ त्यो कुर्सीमा ?’

डा. केसीले अगाडि भने, ‘मर्डरर हो यो । प्रधानन्यायाधीश हत्यारा हो हत्यारा … ।’

पराजुलीविरुद्ध चर्को आक्रोश पोखेका डा. केसीले अदालतको भने सम्मान गर्ने बताए ।

सहीरुपमा न्यायसम्पादन गर्नेहरुको सम्मान गर्ने भन्दै डा. केसीले भने, ‘तर, न्याय विक्री गर्ने र हत्यारा, माफिया र डन प्रधानन्यायाधीश जबसम्म पदमा रहिराख्छन्, त्यसबेला अदालतले कुनै फैसला गर्छ भने मलाई मान्य हुँदैन । कुन आधारमा भन्ने निश्पक्ष फैसला हुन्छ ?’

माफियाको पक्षमा एकपछि अर्को फैसला गरेको भन्दै उनले प्रधानन्ययाधीश पराजुली ‘माफिया किङ’ भएको बताए । पछिल्लो पटक आईओएमका डीनमा शशी शर्मालाई चार दिनका लागि पुनर्वहाली गर्नु त्यसको प्रमाण भएको उनले दाबी गरे ।

त्रिवि उपकुलपति तीर्थराज खनिया पनि भ्रष्ट र माफिया भएको भन्दै उनले भने, ‘उनीहरुले मिलेर आधिकारिक डिनलाई काम गर्न नदिएर अलपत्र पारेका छन् ।’

यसमा पूर्वमहान्यायाधिवक्ता एवं अधिवक्ता रमन श्रेष्ठ पनि मिलेको डा. केसीको आरोप छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter